उच्चस्तरीय भेटवार्तामा सहभागी हुँदै
नेपाल भ्रमणमा रहनु भएका जनवादी गणतन्त्र चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री बेई फेङ्हे नेपाली सेनाको जंगी अड्डा निरीक्षण गर्नु भएको छ ।
भद्रकालीस्थित जंगीअड्डा पुग्दा नेपाली सेनाको एक टोलीले उनलाई सम्मान गारद अर्पण गरेको थियो । पाँच घण्टा मात्रै नेपालमा रहने बेईले राष्ट्रपति, प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्ने तालिका छ । यसअघि, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्न पुगेका गृहमन्त्री रामबहादुर थापासँग बेईले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताउनु भएको थियो ।
चिनियाँ विशिष्ट अतिथिले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको उहाँले स्पष्ट पार्नु भएको थियो ।
गत बर्ष चिनियाँ राष्ट्रपति सी जिनपिङ्को भ्रमणपछि चीनबाट पहिलोपटक मन्त्रीस्तरीय पाहुना आएका हुन् । कोभिड १९ को महामारीपछि चीनबाट आउने उहाँ नै सबैभन्दा उच्च अधिकारी हुनुहुन्छ ।
उच्चस्तरीय भेटमा एक चीन नीतिप्रति नेपालको दृढ वचनबद्धता, ताइवान चिनियाँ क्षेत्रको अविच्छिन्न भूभाग भएको मान्यता, अन्तर्राष्ट्रिय परिदृश्यमा चिन्ताको विषय बनेको तिब्बत मामिला, नेपाली भूमिमा चीन विरोधी गतिविधि हुन नदिने र तिब्बती शरणार्थीको निगरानी, सीमा क्षेत्रमा अवाञ्छित गतिविधि हुन नदिन सुदृढ सुरक्षा व्यवस्थाका निम्ति आपसी समन्वयलगायत सहकार्यका विविध विषयमा विचार विमर्श हुनेछ ।