कक्षा ११–१२ छात्रवृत्तिका लागि ३ हजार ७३५ विद्यार्थीको पहिलो मनोनयन
काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८३/८४ का लागि कक्षा ११ र १२ को छात्रवृत्ति कोटामा अध्ययन गर्न ३ हजार ७३५ जना विद्यार्थीको नाम पहिलो मनोनयन सूची (म्याचिङ लिस्ट) मार्फत सिफारिस गरेको छ।
महानगरको छात्रवृत्ति छनोट परीक्षामा योग्यताक्रमको अन्तिम सूचीमा परेका विद्यार्थीमध्ये विषय र शिक्षण संस्थाको प्राथमिकताका आधारमा नाम सिफारिस गरिएको परीक्षा समितिका संयोजक नमराज ढकालले जानकारी दिए।
उनका अनुसार यसअघि प्रकाशित अन्तिम योग्यताक्रम, विद्यार्थीले आवेदनका क्रममा छनोट गरेका विषय तथा शिक्षण संस्थाको प्राथमिकता र विभिन्न समूहका लागि छुट्याइएको कोटाका आधारमा मनोनयन सूची तयार गरिएको हो। परीक्षा समितिको शुक्रबार बसेको बैठकले उक्त सूची प्रकाशन गर्ने निर्णय गरेको थियो।
मनोनयनमा परेका विद्यार्थीहरूले महानगरको छात्रवृत्ति पोर्टलमा छात्रवृत्ति परीक्षाको रोल नम्बर, जन्ममिति र पासवर्ड प्रयोग गरी मनोनयन पत्र डाउनलोड तथा प्रिन्ट गर्न सक्ने व्यवस्था गरिएको छ। उनीहरूले जेठ २७ गतेभित्र मनोनयन गरिएको शिक्षण संस्थामा अनिवार्य रूपमा भर्ना भइसक्नुपर्ने ढकालले बताए।
प्रकाशित सूचीअनुसार शिक्षाशास्त्रतर्फ ६, मानविकीमा १२, कानुनमा ५०, व्यवस्थापनमा १ हजार ४०१ र विज्ञान संकायमा २ हजार २६६ विद्यार्थी सिफारिस भएका छन्।
विभिन्न आरक्षण तथा विशेष कोटाअन्तर्गत ल्याण्डफिल साइट प्रभावित क्षेत्रबाट २८, महानगरभित्रका स्थायी बासिन्दाबाट ४९२, सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेका १ हजार ५४५, संस्थागत विद्यालयबाट उत्तीर्ण ४८१, अपाङ्गता भएका व्यक्ति वा अभिभावकमा अपाङ्गता भएका परिवारबाट १३, आदिवासी जनजातिबाट १७३, खस आर्यबाट १९७, छात्रा कोटाबाट ४४०, थारुबाट ३९, दलितबाट ९६, पिछडिएको क्षेत्रबाट ४६, मधेशीबाट १४९, मुस्लिमबाट २२ तथा सहिद, बेपत्ता पारिएका, जनआन्दोलन र द्वन्द्वपीडित परिवारबाट १४ जना विद्यार्थी सिफारिस भएका छन्।
महानगरले यस वर्ष १४५ वटा शिक्षण संस्थाका लागि कुल ४ हजार ८५७ छात्रवृत्ति कोटा निर्धारण गरेको छ। पहिलो चरणमा मनोनयन भएका विद्यार्थीहरू निर्धारित समयभित्र भर्ना नभएर रिक्त हुने सिटमा बाँकी योग्य विद्यार्थीहरूलाई दोस्रो चरणको मनोनयन सूचीमार्फत अवसर दिइनेछ। महानगरका अनुसार दोस्रो चरणको सूची जेठ २८ गतेपछि प्रकाशन गरिनेछ।