हराएका कागजात र सवारी साधनसम्बन्धी निवेदन अब अनलाइनबाटै दिन पाइने
केही अघिसम्म काठमाडौँ उपत्यकामा कुनै सवारी साधन अथवा त्यसका कागजात हराएमा नागरिकले महानगरीय ट्राफिक प्रहरी महाशाखामा आफैँ उपस्थित भएर निवेदन दिन्थे ।
मानिसहरुको बढी भिडभाड हुँदा लामो लाइनको झन्झट त हुन्थ्यो । यसका साथै गत वर्षबाट महामारीको रुपमा फैलिएको कोभिड–१९ संक्रमणको जोखिम उत्तिकै थियो ।
अब भने त्यो झन्झटबाट नागरिक मुक्त भएका छन् । महाशाखाले घरमै बसेर सबै समस्याका निवेदन अनलाइनबाटै दिन सकिने व्यवस्था गरेपछि सर्बसाधारणका लागि ठुलो राहत मिलेको छ ।
अब नागरिकले हराएका कागजात र सवारी साधनसम्बन्धिका निवेदन मोबाइल वा कम्यूटरबाट एक क्लिकमै दिन सक्नेछन् ।
विगतदेखि नै प्रविधिमैत्री अभ्यासको थालनी गरेको महाशाखाले कोरोनाको संक्रमण फैलिएपछि प्रविधिको उच्चतम प्रयोगतर्फ जोड दिएको पाइएको छ ।
कार्यालयमा भिडभाड हुने र रोगको जोखिम बढेपछि त्यसको नियन्त्रणका साथै ट्राफिक व्यवस्थापन चुस्त बनाउन उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गरी प्रविधितर्फ जोड दिन थालिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए ।
महाशाखामा यही असोजमा हराएका कागजात र सवारी साधनबारे अनलाइनमार्फत निवेदन दिन सकिने गरी नयाँ सफ्वेयरको विकास गरिएको हो ।
यसका लागि महाशाखाको वेवसाइट तचबााष्अ।लभउबउियष्अिभ।नयख।लउ मा गएर अनलाईन एप्लिकेशनमा क्लिक गर्नुपर्ने छ ।
त्यसभित्र ‘लस्ट डकुमेन्ट एप्लिकेशन’ र ‘लस्ट भेइकल एप्लिकेशन’ गरी दुई वटा अप्सन छ । आफ्नो समस्याको आधारमा एउटा अप्सन छनोट गरी त्यसमा क्लिक गरेर निवदेन दिन सकिनेछ । नेपाली वा अङ्ग्रेजी दुबै भाषामा निवेदन दिन सकिने व्यवस्था छ ।
अनलाइनमा मागिएको विवरण भरेर पठाएपछि उक्त विवरण सोझै ट्राफिक प्रहरीको नियन्त्रण कक्षमा पुग्ने छ । त्यही विवरणको आधारमा प्रहरीले दर्ता गरी तत्काल खोजी कार्य सुरु गर्ने महाशाखाअन्तरगत कम्युटर शाखाका प्रहरी निरीक्षक सुरेशकुमार थापाले जानकारी दिए ।
उनका अनुसार अनलाइन प्रणालीको अनुगमन र रेखदेखमा कम्युटर एडमिन शाखाले काम गर्ने छ । त्यही शाखामार्फत गुनासोकर्तालाई सूचना सम्प्रेशण हुन्छ ।
फेला परेपछि अनलाइनबाटै सूचना पुग्ने गरी सफ्टवेयरको विकास गरिएको छ त्यही सूचनाको आधारमा सवारी वा कागजातधनीले आफ्नो सामग्री लैजान सक्ने छन् ।
यही ५ असोज गते हराएका सवारी चालक अनुमति पत्र, सवारी दर्ता किताब र सवारी इजाजतपत्रको सिफारिसको निवेदन अनलाइनबाटै दिन सकिने व्यवस्थाको थालनी गरिएको र १८ असोज बाट भने हराएका सवारीको पनि अनलाइनबाटै निवेदन दिन सकिने गरी सफ्टवेयरको प्रयोग सुरु भएको छ ।
महाशाखाका अनुसार झण्डै १५ दिनको अबधिमा अनलाइनबाट एक हजार ५ सय १२ वटा निवेदन प्राप्त भइसकेको छ ।
महाशाखाले प्रविधिलाई जोड दिँदै ट्राफिक व्यवस्थापन सम्बन्धिका अन्य विभिन्न गतिविधि अघि बढाएको थियो ।
महाशाखा कै समन्वयमा विगत ९ वर्षदेखि बिग्रिएर बसेको काठमाडौँ उपत्यकाको २४ स्थानका सञ्चालित प्रविधिमैत्री ट्राफिक बत्तीले सवारी आवागमनमा सहज पारेको छ । अन्य ११ स्थानका लागि काम भइरहेको महाशाखाले जनाएको छ ।
यस्तै, सर्भिलेन्स भेईकल्स, राडर गन, बे्रथलाइजरको समेत अधिकतम उपयोग गरी ट्राफिक नियम उल्लङ्घन विरुद्धसमेत कारबाही जारी छ ।
भेइकलमार्फत ५५६ र राडर गनमार्फत एक हजार ७ सय ६४ सवारी साधनलाई कारबाही गरिएको छ । ब्रेथलाइजरको प्रयोग गरी २५ हजार बढी सवारी कारबाही गरेको माशाखाले जनाएको छ ।
कतिपय अबस्थामा ट्राफिक प्रहरी देख्दा नियम मान्ने, नदेख्दा उलङ्घन गर्ने प्रवृत्ति थियो । त्यसको नियन्त्रणका उपाए थिएन ।
महाशाखामा जनशक्तिसमेत थोरै भएकाले समस्या परेपछि विगतदेखि नै सिसी क्यामराको श्रव्यदृष्य हेरेर कारबाही थालिएको महाशाखा प्रमुख ढकालले बताए ।
‘ट्राफिक कम्युनिकेसन एप्स’को प्रयोग गरी सवारी साधन व्यवस्थापनलाई चुस्त बनाउने प्रयासमा महाशाखा रहेको छ । उक्त एप्समार्फत सवारी दुर्घटना न्यूनिकरण तथा सुरक्षित यात्राका लागि आवश्यक निगरानी गर्ने गरिएको छ ।
लामो दुरीका यात्रुवाहक यातायत चलाउने चालक परिवर्तन भए÷नभएको, दुई चालक भए नभएको बारे आवश्यक जाँच गरी ४५६ सवारी साधनलाई कारबाहीको दायरामा ल्याईएको महाशाखाले जनाएको छ ।
काठमाडौँ उपत्यकामा हुने सवारी दुर्घटनाको अभिलेखीकारण गर्न महाशाखालगायत मातहतका ३३ कार्यालयमा सवारी दुर्घटनासम्बन्धी सूचना व्यवस्थापन प्रणालीको प्रयोगलाई तिब्र पारिएको छ ।
महाशाखाले निकट भविश्यमा ईन्टेलिजेन्स ट्राफिक नियन्त्रण कक्ष, भेइकल स्क्यानर, स्वचालित गति मापक यन्त्र, डिडिटल ड्राइभिङ परीक्षण केन्द्र, भेइकल ट्राकिङ प्रणाली, प्रविधिमैत्री तथ्याङ्क व्यवस्थापन केन्द्र, विद्युतीय टोकन प्रणाली, विद्युतीय उद्धार सामग्री र प्रविधियुक्त मिटर रिडिङ् प्रणालीको प्रयोग गर्ने योजना अघि बढाएको छ ।