पशुपतिका कर्मचारीलाई कार्यकारी निर्देशकको अनधिकृत स्पष्टीकरण
चोरबाटोबाट कर्मचारी भर्ना गर्ने प्रयासमा रहेका पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले अनधिकृत रुपमा दुई कर्मचारीलाई स्पष्टीकरण सोधेका छन् । कार्यालयका गोप्य कागजात बाहिरिएको भन्दै ती कर्मचारीलाई कारबाहीका लागि स्पष्टीकरण सोधेका हुन्।
कोषका कर्मचारीलाई पूर्णरुपमा काम गराउन नसकेको र पशुपति मन्दिर खुला पनि भइनसकेको अवस्थामा एक्कासी प्रक्रिया नै पूरा नगरी निवेदनको भरमा कर्मचारी भर्ना गर्न लागेपछि शिलापत्रले समाचार प्रकाशन गरेको थियो । १३ असोजमा शिलापत्रमा ‘पशुपतिमा चोरबाटोबाट करिब चार दर्जन कर्मचारी भर्ती गरिदैँ’ शीर्षकमा समाचार प्रकाशित भएको थियो ।
त्यही समाचारलाई आधार बनाएर कार्यकारी निर्देशक खतिवडाले कर्मचारीलाई तर्साउन स्पष्टीकरण सोधेको आरोप छ । कोष स्रोतका अनुसार कार्यकारी निर्देशक खतिवडाको सचिवायलयमा कार्यरत माधव अधिकारी र कोषाध्यक्ष मिलनकुमार थापाको सचिवायमा कार्यरत वासु रिमाललाई स्पष्टीकरण सोधेका छन् ।
कार्यकारी निर्देशक खतिवडाले अनधिकृत रुपमा कोषका कर्मचारी अधिकारी र रिमाललाई स्पष्टीकरण सोधेको कोषका पदाधिकारी र कर्मचारीको दाबी छ । कोषको कर्मचारी नियमावलीअनुसार कार्यकारी निर्देशक खतिवडाले महाशाखा प्रमुख र अधिकृत स्तरका कर्मचारीलाई मात्र स्पष्टीकरण सोध्ने अधिकार छ ।