बिहीबारबाट बढ्यो आन्तरिक हवाई उडानको कोटा
सरकारले बिहीबारबाट लागू हुने गरी आन्तरिक हवाई उडानको कोटा वृद्धि गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यसअघि ५ असोजबाट उडान थाल्दा १४ असोजसम्मको उडान तालीका दिएको थियो ।
यसबीचमा हवाई यात्रुको बढ्दो चापकाबीच प्राधिकरणले कम्पनीहरुलाई दैनिक दिएको उडानको कोटा बढाएको हो । प्राधिकरणका अनुसार अब बुद्ध एयरले दैनिक २५ वटा उडान गर्न पाउने छ ।
यसअघि दैनिक १८ वटा उडानको अनुमति बुद्ध एयरलाई दिइएको थियो । अब यति एयरलाइन्सले दैनिक १८ वटा उडान गर्न सक्ने भएको छ । यसअघि उसलाई ११ वटा उडानको अनुमति थियो ।
दुर्गम भेगमा काठमाडौंबाट उडान गर्ने समिट, तारा र सीता एयरले समेत अब दैनिक चार वटा उडान गर्न सक्ने भएका छन् । यसअघि यी कम्पनीले तीन/तीन उडान गर्ने सक्ने गरी प्राधिकरणबाट तालीका प्राप्त गरेका थिए । प्राधिकरणका अनुसार यो तालिका अक्टोवर महिनाभर लागू हुनेछ ।
त्यसपछि परिस्थितिको अवस्था हेरी उडान थपघटको निर्णय हुन सक्ने भएको छ । कम्पनीहरुका अनुसार लकडाउन र निषेधाज्ञापछि खुलेको आन्तरिक उडानका यात्रुको आकर्षण देखिएको छ । अहिले हवाई उडानका ९० प्रतिशतभन्दा माथि सीट भरिएको छन् ।