सुदूरपश्चिममा घट्यो कोरोना सङ्क्रमण, जनजीवन सहज बन्दै
डोटी । दुई महिनाअघिसम्म कोरोना विस्फोटकरुपमा कोरोना सङ्क्रमणमा वृद्धि भएको सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय सङ्क्रमित छिट्टै निको पनि भएका छन् । यहाँका नौवटै जिल्लामा कोरोना सङ्क्रमित निको हुनेको सङ्ख्यामा वृद्धि हुँदै गएको पाइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार पछिल्लो समय यो प्रदेशमा कोरोना निको हुनेको सङ्ख्या पाँच हजार ९२९ पुगेको छ । कोरोनाकै कारण सुदूरपश्चिम प्रदेशमा ११ जनाको मृत्यु भएको छ । तर पछिल्लो समय निको हुने दरमा उल्लेख्यमात्रामा वृद्धि भएको निर्देशनालयले जनाएको छ ।
केही समयअघि यो गाविसमा एकैपटक १३ जना सङ्क्रमित थिए । भारतबाट आएका उनीहरुसँगै अरु पनि निको भएर घर फर्र्किएका बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताए । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका निर्देशक डा.गुणराज अवस्थीका अनुसार हालसम्म कैलालीबाट एक हजार ३३१, डोटीका ९५२, अछामका ७९५, कञ्चनपुरका ६१६, बाजुराका ४४२, बैतडीका ३२२, डडेल्धुराका २९९, बझाङका २८० र दार्चुलाका ४१ जना कोरोना सङ्क्रमणबाट मुक्त भई घर फर्किएका छन् । यहाँका नौवटै जिल्लाका करिब एक हजार जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन् । बाँकीको विभिन्न अस्पताल तथा आइसोलेशन राखेर उपचार हुँदै गरेको निर्देशक डा.अवस्थीको भनाइ छ ।
सुदूरपश्चिममा पहिलो पटक गएको विसं २०७६ चैत १४ गते धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षीय एक युवकमा कोरोना सङ्क्रमण देखिएको थियो । विदेशबाट आएका उनी सेती प्रादेशिक अस्पतालमा ३० दिनको उपचारपछि निको भएका थिए । यहाँका जिल्लामा भारतबाट रोजगारी गरी फर्किएका नागरिकसँगै उनीहरुका परिवारमा पनि कोरोना सङ्क्रमण देखिएको स्वास्थ्यकर्मी बताउँछन् ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको छ । कैलालीमा रहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले प्लाज्मा थेरापीबाट उपचार गर्न अनुमति पाएसँगै यहाँका कोरोना सङ्क्रमितको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले तय गरेको मापदण्डअनुसार प्लाज्मा थेरापी विधिबाट अनुसन्धानात्मक उपचार शुरु गरिएको श्रेष्ठले बताए । कोरोना सङ्क्रमितलाई प्लाज्मा थेरापी विधिको आवश्यकता परेमा सङ्क्रमितको उपचारमा संलग्न चिकित्सकले कोरोनामुक्त भएकालाई आह्वान गर्छन् । त्यसपछि रक्तदाता सम्पर्कमा आएपछि रेडक्रसका माध्यमबाट रगत सङ्कलन गरी त्यसबाट प्लाज्मा छुट्याएर सङ्क्रमितलाई उपचार गरिने व्यवस्था मिलाइएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.प्रकाश ठकुल्लाका अनुसार नेपाल सरकारले तोकेको जनस्वास्थ्यको मापदण्डअनुसार यहाँका कोरोना सङ्क्रमणको नियन्त्रण र रोकथामका उपाय अपनाइएको छ । सङ्क्रमण भएको व्यक्तिलाई १४ दिन क्वारेन्टिनमा राखिन्छ र त्यहाँ जाँच गर्दा कोरोना लक्षण नदेखिएको खण्डमा डिस्चार्ज गर्ने गरिन्छ ।
केही महिनाअघि नै सङ्क्रमित भएर निको हुनुभएकी यहाँको राष्ट्रिय वाणिज्य बैंककी एक जना कर्मचारीले कोरोना सङ्क्रमणले आफूलाई खासै कुनै अप्ठ्यारो अवस्था नआएको अनुभव सुनाउँछन् । उनले यो सङ्क्रमणबाट खासै डराउनु नपर्ने बताउँछन् । उनले भने, “यो कोरोना भाइरसको सङ्क्रमण बजारमा चल्दै आएको हल्लाजस्तो त्रास होइन, आफूले सतर्कता र सजगता अपनाउँदा नै निको भएर जान्छ । “म पनि सङ्क्रमित भएकी थिएँ, घरमै बसेर तातो पानी, बेसार, गुर्जो तथा अरु स्थानीय जडीबुटी र घरायसी उपचार पद्दति पनि अपनाएँ सायद यसै कारणले होला मलाइ चाँडै नै निको भयो”, उनले सुनाए । आफू १५ दिनभन्दा बढी सङ्क्रमित भएर बस्नु नपरेको उनले बताए । कोरोना लागेपछि मरिहालिन्छ भनेर कसैले पनि सोच्नु हुँदैन, सङ्क्रमण भयो भने आफूले पनि सजगता अपनाउने र परिवार तथा समुदायका मानिसमा नजाओस् भनेर आफैँ अलग्गै र सुरक्षित बस्ने गर्नुपर्ने उनले सुझाव दिए ।
सुदूरपश्चिममा कोरोना सङ्क्रमित निको हुँदै गए पनि भारतमा भने यसको अवस्था निकै भयावह छ । त्यहाँ हरेक दिन करिब एक लाख मानिस सङ्क्रमित थपिने गरेका समाचार नेपाली सञ्चारमाध्यमहरुबाट थाहा हुन्छ । यहाँका स्थानीयहरुलाई पनि यो थाहा नभएको होइन । तर पनि आफ्नो रोजीरोटीका लागि यहाँका स्थानीयवासीहरु दैनिक भारत पस्न थालेका छन् ।
गाउँमा रोजगारी तथा कमाइ खाने पेशा नभएका कारण गुजारा चलाउन समस्या भएपछि पछिल्लो समय उनीहरु पुनः भारत फर्किन थालेका हुन् । यहाँको त्रिनगर तथा गड्डाचौकी भन्सारबाट दैनिक सयौँको सङ्ख्यामा सुदूरपश्चिमेली नागरिक रोजगारी अर्थात् पेट पाल्नकै लागि भारत जान थालेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले भारतबाट कोरोनाका कारण रोजगारी गुमाएर आएका स्थानीय नागरिकका लागि गाउँमै रोजगारीको व्यवस्था गर्ने बताए पनि अहिलेसम्म गाउँमा रोजगारीको कुनै पनि व्यवस्था नगरेका कारण स्थानीयवासी पेट पाल्नकै लागि भारत पस्न बाध्य भएको सायल गाउँपालिकाका स्थानीयवासी तथा नेकपाका युवा नेता तेजबहादुर डुम्रेलले बताए । उनले भने, “गाउँमा युवा सबै बेरोजगार भए कमाउने ठाउँ छैन, एक छाक खानलाई भए पनि भारत पस्नु पर्ने विडम्बना छ ।”
विगतका दशैँ तिहारका समयमा भारतबाट घर फर्किने लर्को लाग्ने यहाँका सीमानाकामा अहिले काम खोज्न भारत पस्नेको लर्को लाग्न थालेको छ । आउँदै गरेको दशैँ तथा तिहार जस्तो चाडपर्वको कुनै वास्ता नगरी दिनहुँ लालाबाला बोकेर पेट पाल्नकै लागि नागरिक भारत पस्दासमेत यहाँको प्रदेश सरकारसँग कुनै कार्यक्रम नरहेको दिपायल पिपल्लाका स्थानीयवासी कैलाश विकले बताए ।