इरानमाथि अमेरिकाको नयाँ प्रतिबन्ध, विदेशी कम्पनीलाई पनि चेतावनी
वासिङ्टन — अमेरिकाले इरानमाथि आर्थिक दबाब थप बढाउँदै डिजिटल सम्पत्ति, प्रविधि, सुन, उड्डयन र समुद्री ढुवानी क्षेत्रलाई लक्षित गरी नयाँ प्रतिबन्ध घोषणा गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले ‘अपरेसन इकोनोमिक आउटकास्ट’ नाम दिइएको अभियानमार्फत इरानको आर्थिक आम्दानीका प्रमुख स्रोतमा प्रहार गर्ने बताएका छन्।
अमेरिकी ट्रेजरी विभागका अनुसार नयाँ व्यवस्थाले इरानका यी पाँच क्षेत्रमा कारोबार गर्ने वा महत्त्वपूर्ण सहयोग उपलब्ध गराउने विदेशी व्यक्ति तथा संस्थामाथि समेत ‘सेकेन्डरी प्रतिबन्ध’ लगाउने आधार तयार गरेको छ। त्यस्ता संस्थाले अमेरिकी डलरमा आधारित वित्तीय प्रणालीमा पहुँच गुमाउने जोखिमसमेत बेहोर्नुपर्नेछ।
अमेरिकाले सोमबारको कारबाहीमा इरानसँग सम्बन्धित करिब ६० व्यक्ति, संस्था र पानीजहाजलाई समेत प्रतिबन्धको सूचीमा राखेको छ। तीमध्ये केहीमाथि आणविक तथा क्षेप्यास्त्र कार्यक्रमका लागि सामग्री खरिद, साइबर गतिविधि र इरानी तेलबाट आम्दानी गर्न सहयोग गरेको आरोप लगाइएको छ।
बेसेन्टले इरानसँग आर्थिक कारोबार जारी राख्ने देश र कम्पनीलाई पनि अमेरिकी कारबाहीको जोखिम रहेको चेतावनी दिएका छन्। यद्यपि तत्काल कुन देश वा कम्पनीमाथि थप ‘सेकेन्डरी प्रतिबन्ध’ लगाइने भन्ने स्पष्ट गरिएको छैन। इरानका प्रमुख व्यापारिक साझेदार चीन, टर्की र संयुक्त अरब इमिरेट्स अमेरिकी दबाबको दायरामा पर्न सक्ने देखिएको छ।
अमेरिकी कदमपछि इरानले भने त्यसको प्रतिकार गर्ने चेतावनी दिएको छ। तेहरानले अमेरिकी प्रतिबन्ध अभियान प्रभावहीन हुने दाबी गर्दै आफ्ना प्रमुख व्यापारिक साझेदारले वासिङ्टनको दबाब अस्वीकार गर्ने विश्वास व्यक्त गरेको छ।
नयाँ प्रतिबन्धले इरानसँग कारोबार गर्ने विदेशी कम्पनीका लागि अमेरिकी वित्तीय प्रणालीमा पहुँच जोगाउने र इरानी बजारसँगको सम्बन्ध कायम राख्नेबीच कठिन छनोट सिर्जना गर्ने अपेक्षा गरिएको छ।