एयरलाइन्सका आकर्षक घुमफिर प्याकेज, झस्किए पर्यटन व्यवसायी
१४ असोज, काठमाडौं । कोरोना महामारीका कारण झण्डै ६ महिना घरभित्र थुनिएका नेपालीका लागि एयरलाइन्स कम्पनीहरुले आकर्षक घुमफिर प्याकेज ल्याएका छन् । यसमा यति एअरलाइन्स, बुद्ध एअर र समिट एअर अगाडि देखिएका छन् । उडान सेवा दिने कम्पनीहरुले घुमफिर प्याकेज ल्याएपछि पर्यटन व्यवसायी भने झस्किएका छन् ।
एअरलाइन्सका सस्तो प्याकेज लामो समयसम्म नटिक्ने र त्यसले मूल्य चाहिँ घटाउने चिन्ता उनीहरुमा छ । ‘एअरलाइन्सका ट्राभल प्याकेज टिकाउ त हुँदैनन् नै’, नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) का अध्यक्ष अच्युत गुरागाई भन्छन्, ‘मूल्य बिगारेर पर्यटन व्यवसायीलाई व्याकेज बिक्री गर्न नसक्ने बनाउन चाहिँ सक्छ ।’
आज १४ हजारमा बेचिरहेको प्याकेज ६ महिनापछि २० हजारमा प्रस्ताव गर्दा उपभोक्ताले विश्वास नगर्ने उनी बताउँछन् ।
एयरलाइन्सका आकर्षक प्याकेज आएपछि नाट्टा अध्यक्ष गुरागाई र ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले संयुक्त विज्ञप्ति जारी गर्दै सबै प्रकृतिको व्यवसायले अरुको व्यवसायमा हस्तक्षेप गर्न नहुने बताएका छन् ।
हवाई कम्पनीले ल्याएको प्याकेजलाई उनीहरुले ट्रेकिङ र ट्राभल कम्पनीको काम खोस्न खोजेको रुपमा अर्थ्याएका छन् । संयुक्त विज्ञप्तिमा ‘कसैले कसैको व्यवसायमाथि हस्तक्षेप गरी काम नगर्नु/नगराउनु हुन पनि हामी जोडदार माग गर्दर्छौं’ भनिएको छ ।
उता, यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमाल समग्र पर्यटन व्यवसायलाई चलायमान बनाउन सहयोग पुग्ने गरी प्याकेज ल्याएको बताउँछन् ।
यतिले डेढ दर्जन गन्तव्यका लागि प्याकेज ल्याएको छ । बुद्धले पोखरा र चितवन तथा समिट एयरले एभरेष्ट ट्रेकका लागि सस्तो प्याकेज ल्याएको छ ।