तातोमा पनि बाँच्ने, टुक्रा पार्दा आफैं जोडिने ज्याद्रो भाइरस !
हंगेरीमा भएको एउटा अध्ययनले कोरोना भाइरसले धेरै ताप सहन सक्ने देखाएको छ। साथै यसले आफूमा भएको क्षति आफैं निको पार्न सक्ने र आजसम्मै सम्भवतः सबभन्दा ज्याद्रो भाइरसका रूपमा देखिएको अध्येताहरूले बताएका छन्।
अध्ययन टोलीले कोरोना भाइरसलाई धेरै मसिनो सुइले घोचेर हेरेको थियो। उनीहरूले यो बेलुनजस्तो फ्याट्ट फुट्ला भन्ने आशा गरेका थिए। तर फुटेन।
उनीहरूले परीक्षणमा ८० नानोमिटरको सग्लो कोरोना भाइरस प्रयोग गरेका थिए। यसलाई घोच्ने सुइको टुप्पा त्योभन्दा निकै पातलो थियो। सुइले भाइरसको माथिबाट झन्डै सतहसम्मै घोचेपछि यो छताछुल्ल भयो। तर अचम्म, सुइ हटाएको केहीबेरमै यो आफैं एकत्रित भयो र पहिलेकै अवस्थामा फर्किएर एकै डल्लो भयो।
अध्येताहरूले झन्डै सय पटकसम्म यसै गरे। जति पटक घोचे पनि छताछुल्ल भएको भाइरस फेरि आफैं संगठित हुन्थ्यो। सग्लो एक ढिक्का भएर आफ्नो स्वरूपमै फर्किन्थ्यो।
'यो अचम्मै ज्याद्रो छ,' हंगेरीको राजधानी बुडापेस्टस्थित सेमेलवेइस विश्वविद्यालयका डा. मिक्लोस केलरमेयरको नेतृत्वमा खटिएको टोलीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। विज्ञहरूको आन्तरिक परीक्षण नभइसकेको यो प्रतिवेदन बिहीबार बायोर्कसिभ डट ओआरजी बेवसाइटमा प्रकाशन गरिएको हो।
आफ्नो अद्भूत बनावटका कारण कोरोना भाइरसले वैज्ञानिकहरूलाई एकपछि अर्को चित ख्वाइरहेको छ।
बेइजिङमा पनि सिंघुवा विश्वविद्यालयको टोलीले यो भाइरसको अहिलेसम्मकै विस्तृत संरचनात्मक पुनर्निर्माण स्वरूपको अध्ययन गरेका थिए। यसबारे यसै साता जारी भएको 'सेल' नामक जर्नलमा उल्लेखित छ।
त्यसबाट पत्तालागे अनुसार यो भाइरसले ठूलो मात्रामा 'न्यूक्लिक एसिड रिबन' को थुप्रो लगाउन सक्छ। यो थुप्रोमा भाइरसले असाध्यै मजबुत तवरले अनुवांशिक तथ्यांक बोकेर राखेको हुन्छ। यी दुवै एकअर्कासँग नजेलिइकन अलग्गै बसेर पनि कसिलो बन्न सक्छन्।