बझाङमा मदिराले बढाउँदै हिंसा
बझाङ : मदिराकै कारण घरेलु हिंसा बढ्न थालेको छ । स्थानीय तह आएसँगै मदिरा सेवनका कारण हुने हिंसाका घटनामा कमि आउँने अपेक्षा थियो । तर न मदिराको उत्पादन रोकियो, न त मदिरा सेवनका कारण हुने हिंसाका घटनामा नै कमि आयो । ‘रक्सीले धेरैको घरमा झगडा हुन्छ । कतिपयले रक्सीमै ज्यान फालिसकेका छन्, केदारस्युँ सुकानाउलाकी परुलीदेवि बाेहराले भनिन् – मान्छेले विहान बेलुकी छाक टार्ने पैसाले गाउँघरमा मदिरा खान्छन् ।’
पछिल्लो समय मदिरा सेवनका कारण हुने हिंसाका घटना झन् बढिरहेको छ । यस वर्षको बैशाख महिना यता मात्रै जिल्ला प्रहरी कार्यालय बझाङमा श्रीमान–श्रीमतीका १६ वटा, घरपरिवारका २५ वटा, गाउँघरमा भएको झगडाको ८ लगाएत गरि ५७ वटा हिंसाका उजुरी परिसकेका छन् । यी मध्ये धेरै जसो घटना मदिरा सेवनकै कारण भएको देखिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले बताए ।
स्थानीय तहमा जनप्रतिनिधि आएसंगै मदिरा बिक्रि वितरण व्यवस्थित बन्ने र मदिराका कारण हुने हिंसामा कमि आउने विश्वास गरिएको थियो । तर, महिला हिंसा कम नभएको र पिडित व्यक्तिले न्याय पाउन पनि मुस्किल रहेको महिला अधिकार मञ्च बझाङका अध्यक्ष जयन्ती जोशीले बताइन् । यद्यपि, वित्थडचिर गाउँपालिकाका उपाध्यक्ष तथा वित्थडचिर गाउँपालिकाको न्यायीक समिति प्रमुख जानकी बोहराले भने चेतनाको माध्यमबाट महिला हिंसा कम गर्न प्रयास गरिरहेको दाबी गरिन् ।
अबैध रुपमा भैरहेको मदिरा उत्पादन र बिक्रि बितरणले पारेको प्रभाब रोक्न अनुगमन तथा नियन्त्रण भइरहेको बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए । घरमा झगडा हुदा बालबालिकालाई नराम्रो असर पर्ने सत्यवादी माध्यमिक बिद्यालयका शिक्षक लक्ष्मण उपाध्यायले बताए । घरेलु हिंसा कम गर्नलाई जथाभाबी रुपमा मदिरा उत्पादन तथा विग्री वितरणमा रोक लगाउनु पर्नेमा महिलाहरुले जोड दिँदै आएका छन् ।