कर्मचारीलाई हप्तामा दुई दिन बिदा, २० वर्ष अघि फेल भएको व्यवस्था सफल होला ?
आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हप्तामा दुई दिन बिदा दिनेबारे अध्ययनका लागि सरकारले कार्यदल गठन गरेको छ । एकपटक कार्यान्वयनमा गएर पनि फेल भएको हप्तामा दुई दिन बिदासम्बन्धी अभ्यास फेरि प्रयोगमा ल्याउन सरकारले पहल गरेको हो ।
कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रको उत्थानका लागि पर्यटन मन्त्रालयले कर्मचारीलाई हप्ताको दुई दिन बिदाको अवधारणा अघि सारेको हो ।
अहिले धेरैजसो देशमा हप्ताको पाँच दिन (४० घण्टा) कर्मचारीले काम गर्ने व्यवस्था छ । तर, नेपालमा हप्ताको ६ दिन कर्मचारीले काम गर्दै आएका छन् । मुस्लिम बाहुल्य अधिकांश देशले शुक्रबार र शनिबार बिदा दिने गरेका छन् भने पश्चिमा देशहरु बेलायत, अमेरिका, क्यानडा, अस्ट्रेलिया तथा एसियाली देशहरु चीन, जापानले शनिबार र आइतबार बिदा दिने गरेका छन् ।