६ महिनापछि विद्यालय खुल्दा विद्यार्थी फुरुङ्ग !
चन्द्रागिरि नगरपालिका वडा नम्बर ७, महादेवस्थानस्थित प्रभात माध्यमिक विद्यालयले गत असारमा अनलाइन कक्षा सञ्चालनका लागि विद्यार्थीहरूको लगत संकलन गर्यो । इन्टरनेट र मोवाइल-ल्यापटप भएका विद्यार्थी संख्या एउटा कक्षामा ६/७ जना भन्दा बढी भएनन् ।
निरन्तरको लकडाउन र निषेधाज्ञा कारण हात बाँधेर बस्नुको विकल्प थिएन । सरकारले निषेधाज्ञा खुकुलो बनाएसँगै चन्द्रागिरि नगरपालिकाले सुरक्षा मापदण्ड अपनाएर विद्यालय सञ्चालन अनुमति दियो । त्यतिमात्रै होइन, नगरपालिकाले शिक्षक-विद्यार्थीमा संक्रमण देखिइहाले उपचार गर्छौं भनेर आडभरोसा समेत दियो ।
विद्यालयमा प्रवेश गर्दा ज्वरो नाप्ने, मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ । एउटा बेन्चमा एकजना मात्रै विद्यार्थी बस्छन् । माथिल्लो कक्षामा भने एउटा बेन्चमा दुई जनासम्म विद्यार्थी राखिएको जनसंख्या शिक्षक रेखा खनालले जानकारी दिइन् ।
कपडाको मास्क लगाएर आउने विद्यार्थीलाई विद्यालय नै सर्जिकलको मास्क उपब्ध गराएको शिक्षक खनाल बताउँछिन् । जोखिमका बावजुद विद्यार्थीको भविष्य हेरेर पढाइलाई निरन्तरता दिएको उनको भनाइ छ ।
भर्ना भएका विद्यार्थीहरू सबैले पाठ्यपुस्तक प्राप्त गरिसकेको रुपाखेती बताउँछन् ।