ऐतिहासिक दरबारहरु उठ्ने तरखरमा
काठमाडौं । २०७२ सालको भूकम्पबाट क्षति भएका पुरातात्विक महत्वका ऐतिहासिक दरबारहरु यतिबेला उठने तरखरमा छन् । दरबारहरुको मौलिकताको अधिकतम सुरक्षा हुने गरी पुनर्निर्माणको काम भइराखेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ । काठमाडौंका ऐतिहासिक सिंहदरबार, केसरमहल, बालमन्दिर, बबरमहल लगायतका दरबारहरुको प्रबलिकरण विधिमार्फत पुननिर्माणको काम भइराखेको हो ।
२०७२ सालको भूकम्पबाट क्षति भएका सिंहदरबारको मूख्य प्रशासनिक भवन सहित काठमाडौंमा रहेका केसरमहल, बाल मन्दिर र बबरमहल दरबार विस्तारै उठने प्रक्रियामा छन । दरबारहरुमा रहेका ऐतिहासिक पुरातात्विक सम्पत्तिहरुको मौलिकतामा कुनै क्षति नहुने गरी राष्ट्रिय पुननिर्माण प्राधिकरणले प्रबलिकरण विधिमार्फत पुननिर्माण गरिरहेको छ ।
प्राधिकरणका अनुसार सिंहदरबारको मूख्य प्रशासनिक भवनको पूर्वपट्टीको भागको सम्पूर्ण कार्य आगामी मंसिर महिना भित्रमा सम्पन्न हुनेछ । यो भवनको पुनर्निर्माणको काम सम्पन्न भएपनि फायरफाइटिङ, इन्टेरियर, ल्याण्डस्केपिङ र सुरक्षा लागयतको काम भइराखेको प्राधिकरणका आयोजना उपनिर्देशक झप्पर सिंह विश्वकर्माले बताए । यो भवनको कुल लागत भ्याट बाहेक ५५ करोड ९४ लाख रपैयाँ रहेको छ । त्यस्तै सिंहदरबारको पश्चिमपट्टीको मोहडाको पुननिर्माणले पनि तिब्रता पाएको छ ।
यो भवन पनि प्रबलिकरण विधिमार्फत पुनर्निर्माण भइराखेको हो । ऐतिहासिक महत्वका वस्तुहरुलाई जस्ताको तस्तै जोगाउने गरी पुरानै निर्माण सामग्रीकोे प्रयोग गरि पुरानै विधिमार्फत काम भइराखेको विश्वकर्माले बताए । यो भवनको कूल लागत भ्याटबाहेक ५० करोड रुपैयाँ छ भने हालसम्म ३५ प्रतिशत प्रगति भएको छ । यो भवन २०७८ भदौ ५ गते भित्रमा सम्पन्न हुनेछ ।