पहिलो पटक कोरोनाबाट नेपाली सेनामा कार्यरत एकको मृत्यु
काठमाडौँ । पहिलोपटक कोरोना संक्रमणबाट नेपाली सेनामा कार्यरत एक जनाको मृत्यु भएको छ। काठमाडौँ उपत्यकामा कार्यरत रामेछापका ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको नेपाली सेनाले जनाएको छ । लामो समयदेखि ब्लड क्यान्सरका बिरामीसमेत रहेका ती जवानको भदौ २९ गते मृत्यु भएको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले रातोपाटीलाई जानकारी दिए ।

पौडेलका अनुसार मृत्युपछि असोज १ गते उनमा कोरोना पोजेटिभ भएको देखिएको थियो । उनले भने, ‘उपचारकै क्रममा उनको मृत्यु भएपछि कोरोना पोजेटिभ पाइएको हो ।’यसअघि अहिलेसम्म कुनै पनि सुरक्षा निकायका कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु भएको थिएन । हालसम्म नेपाली सेनाका २ हजार ५६ जनामा कोरोना संक्रमण भएको पौडेलले बताए । जसमा १ हजार ६५४ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन भने ४०१ जना निको भएर आफ्नो जिम्मेवारीमा फर्किसकेका छन् ।
साभारः रातोपाटि