पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध अदालतले पक्राउ अनुमति जारी गरेको छ। बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत साता नै पक्राउ अनुमति लिएको हो।
सीआईबीका अनुसार बानियाँ अहिले फरार छन्। यसअघि गत कात्तिक १६ गते उनका छोरा दिक्षान्त बानियाँलाई प्रहरीले पक्राउ गरेको थियो।
प्रभु बैंकबाट विभिन्न कम्पनीका नाममा लिइएको ३४ करोड रुपैयाँ ऋण दुरुपयोग गरेको आरोपमा उनीहरूमाथि अनुसन्धान भइरहेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा ऋण जुन प्रयोजनका लागि लिइएको थियो, त्यसमा प्रयोग नगरी अन्य बैंक खातामा राख्ने तथा सेयरमा लगानी गर्ने गरेको खुलेको छ।
बानियाँ निर्माण सेवा प्रालि, बानियाँ सप्लायर्स प्रालि र भूगर्भ सिमेन्ट कम्पनीका नाममा उक्त ऋण निकासा भएको थियो। बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार कर्जाको दुरुपयोग गर्न मिल्दैन। सीआईबीले यसअघि अर्को मुद्दामा पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पनि पक्राउ अनुमति लिएको थियो।