सल्यान कांग्रेसको जिल्ला सभापतिमा दीपकजंग चन्द चयन
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको सल्यान जिल्ला अधिवेशनबाट दीपकजंग चन्द जिल्ला सभापतिमा चयन भएका छन् ।
शनिबार सल्यानको श्रीनगरमा सम्पन्न अधिवेशनले चन्दको सभापतित्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो ।
अधिवेशनबाट उपसभापतिमा यज्ञविक्रम शाह, सचिवमा राजेशकुमार रेग्मी र सहसचिवमा गोपाल चन्द चयन भएका छन् । त्यस्तै, अधिवेशनले महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि तथा जिल्लाका १० वटै स्थानीय तहका सभापतिसमेत चयन गरेको उपसभापति शाहले जानकारी दिए ।
अधिवेशनमा नेपाली कांग्रेसका नेता तथा पूर्व जिल्ला विकास समिति सभापति ध्रुवराज पुरीले कांग्रेसको विरासत शेरबहादुर देउवा पक्षसँगै रहेको दाबी गरे । उनले पार्टी नेतृत्वलाई कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाउँदै नेतृत्वमाथि आक्रमण गरेर पार्टी विभाजन गर्न खोजिएको बताए ।
त्यस्तै, कर्णाली प्रदेशका सहमहामन्त्री एकराज डीसीले कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिए । उनले देउवा पक्षको सहकार्यमा पार्टीका सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने धारणा राखे ।
पार्टीभित्र एकता र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै डीसीले सबै पक्षलाई समेटेर अघि बढ्न सके संगठन थप बलियो हुने बताए ।