भीमफेदी दुर्घटनाका मृतक परिवारलाई चक्रघट्टा गाउँपालिकाले ५० हजार दिने
मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा १३ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले मृतकका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ ।
गाउँपालिकाले दुर्घटनामा ज्यान गुमाएका प्रत्येक व्यक्तिका परिवारलाई जनही ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । दुर्घटनामा चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका एक गर्भवती महिलासहित १३ जनाको मृत्यु भएको थियो ।
घटनाप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले शुक्रबार एक दिनका लागि शोक बिदासमेत दिएको छ ।
गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवद्वारा जारी सूचनाअनुसार स्वास्थ्य संस्थाको आकस्मिक सेवा भने नियमित सञ्चालन हुनेछ । साथै, गाउँपालिका क्षेत्रभित्रका सरकारी तथा गैरसरकारी कार्यालय र विद्यालय बन्द रहनेछन् ।