मोरङमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ
मोरङको कानेपोखरी गाउँपालिकामा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ परेका छन्। घटनाबारे सोधपुछ गर्ने क्रममा बालिकामाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने उनका २३ वर्षीय छोरालाई पनि प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गत कात्तिक २९ गते राति कानेपोखरी गाउँपालिका–६ स्थित बालिकाको घरमा जबरजस्ती करणी भएको सूचना प्राप्त भएको थियो। सूचनापछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा स्थानीय ५५ वर्षीय जयराम दर्जीलाई पक्राउ गरेको थियो।
प्रहरीले दर्जीलाई मंसिर १ गते अदालतबाट म्याद थप गरी जबरजस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।
यसै घटनाका सम्बन्धमा दर्जीका २३ वर्षीय छोराले आफ्नी आमालाई समेत सँगै राखेर पीडित बालिकासँग सोधपुछ गर्दै कुटपिट गरेका थिए। उनले उक्त घटनाको भिडियो खिचेर आफ्नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए।
भिडियो सार्वजनिक भएपछि प्रहरीले बुधबार उनलाई पक्राउ गरेको हो। उनीमाथि विद्युतीय अपराधसम्बन्धी कसुर र बालविवाहसम्बन्धी कसुरमा समेत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक केन्द्रकुमार मिश्रले विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी दिएका हुन्। प्रहरीले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिविरुद्ध हुने अपराधमा शून्य सहनशीलताको नीति अपनाउँदै आएको जनाएको छ।