सांसद खगेन्द्र सुनारविरुद्धको मुद्दामा प्रमाणबारे जानकारी गराउन अदालतको आदेश
जिल्ला अदालत काभ्रेपलाञ्चोकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारविरुद्धको विद्युतीय कारोबारसम्बन्धी मुद्दामा प्रमाण बुझेको कागज पेस गर्न आदेश दिएको छ ।
न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले निवेदकले पेस गरेका प्रमाणबारे सुनारलाई जानकारी गराई सोसम्बन्धी कागज अदालतमा पेस गर्न आदेश दिएको हो ।
यसअघि अदालतको अवहेलना तथा सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोपमा सुनारसँग ५० हजार रुपैयाँ धरौटी माग्ने आदेश भएको थियो ।
रिट निवेदक मनीषा गौतमका अनुसार उनले अदालतमा तीन घण्टा लामो अडियो रेकर्ड पेनड्राइभमार्फत प्रमाणका रूपमा पेस गरेकी थिइन् । तर, पछि बुझ्दा अदालतका कर्मचारीले तीन मिनेटको मात्रै अडियो रहेको जानकारी गराएका थिए ।
त्यसपछि आफूले पुनः अडियोसहित निवेदन पेस गरेको गौतमले बताइन् । सोही निवेदनमाथि सुनुवाइ गर्दै अदालतले पेस गरिएका प्रमाणबारे आरोपित सुनारलाई जानकारी गराई त्यससम्बन्धी कागज पेस गर्न आदेश दिएको गौतमले जानकारी दिइन् ।