त्रिविको एन्टि–प्लेजारिजम नियमविरुद्ध सर्वोच्चमा रिट, सरकार र त्रिविलाई कारण देखाऊ आदेश
त्रिभुवन विश्वविद्यालयले लागू गरेको ‘एन्टि–प्लेजारिजम सफ्टवेयर व्यवस्थापन तथा सञ्चालन सम्बन्धी नियम, २०८०’ विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
न्यायाधीश डा. रत्नबहादुर बागचन्दको एकल इजलासले रिट निवेदक विवेक चौधरीसमेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सरकार, त्रिभुवन विश्वविद्यालयलगायत विपक्षीहरूका नाममा १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
सर्वोच्चले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफलका लागि दुवै पक्षलाई उपस्थित हुनसमेत आदेश दिएको छ । अदालतले आगामी मंसिर १४ गतेका लागि छलफलको पेसी तोकेको छ ।
रिट निवेदकहरूले कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी स्पष्ट कानुन र आधिकारिक मापदण्ड नै नभएको अवस्थामा विदेशी निजी सफ्टवेयरले देखाउने अनुमानित प्रतिशतका आधारमा विद्यार्थीका शोधपत्र तथा क्लिनिकल रिपोर्ट अस्वीकार गर्नु प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको दाबी गरेका छन् ।
निवेदनमा टर्निटिन र आइथेन्टिकेटजस्ता सफ्टवेयरले कुनै लिखतलाई ‘लाइक्ली एआई–जेनेरेटेड’ देखाएकै आधारमा विद्यार्थीका शैक्षिक सामग्री अस्वीकार गर्ने गरिएको उल्लेख छ ।
त्यस्तै, सफ्टवेयरले एआईबाट तयार भएको देखाएका लिखत अस्वीकार गर्नुअघि सम्बन्धित विद्यार्थीलाई आफ्नो पक्षमा सफाइ पेस गर्ने न्यूनतम अवसरसमेत नदिई सीधै दण्डित गर्ने गरिएको निवेदकहरूको जिकिर छ ।
यसरी पर्याप्त कानुनी आधार र निष्पक्ष सुनुवाइबिना विद्यार्थीमाथि कारबाही गर्न नमिल्ने भन्दै उनीहरूले त्रिविको उक्त नियमको वैधानिकतामाथि प्रश्न उठाएका हुन् । अब सर्वोच्च अदालतले मंसिर १४ गते दुवै पक्षको बहस सुनेपछि अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निर्णय गर्नेछ ।