रौतहटमा युवकमाथि गोली प्रहार
रौतहटमा अज्ञात व्यक्तिले गोली प्रहार गर्दा एक युवक घाइते भएका छन्। गौर नगरपालिका–४ गडवा टोलस्थित पानी ट्याङ्की नजिक मंगलबार राति अज्ञात व्यक्तिले गोली प्रहार गर्दा स्थानीय २८ वर्षीय राकेश यादव घाइते भएका हुन्।
गोली लागेर घाइते भएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।