भारतीय विदेश सचिव विक्रम मिस्री आज नेपाल आउँदै
भारतीय विदेश सचिव विक्रम मिस्री आज नेपालको औपचारिक भ्रमणमा आउँदै छन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उनी दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन्।
भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव राई र भारतीय विदेश सचिव मिस्रीबीच द्विपक्षीय भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटवार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्नुका साथै आपसी हित र चासोका विविध विषयमा विचार आदानप्रदान हुने कार्यक्रम छ।
दुई देशबीच लामो समयदेखि कायम रहँदै आएको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास मन्त्रालयले व्यक्त गरेको छ।
नेपाल बसाइका क्रममा विदेश सचिव मिस्रीले नेपालका उच्चस्तरीय विशिष्ट व्यक्तित्वहरूसँग शिष्टाचार भेटघाटसमेत गर्नेछन्। दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी मिस्री कात्तिक १९ गते काठमाडौं हुँदै नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।