नेपाल–बङ्गलादेश आर्थिक सहकार्य विस्तार गर्न निजी क्षेत्रबीच साझेदारीमा जोड
काठमाडौं । नेपाल र बङ्गलादेशबीच व्यापार, ऊर्जा, हवाई सम्पर्क तथा पर्यटन क्षेत्रमा आर्थिक सहकार्य विस्तार गर्न दुवै देशका निजी क्षेत्रबीच साझेदारी बढाउन जोड दिइएको छ।
बङ्गलादेशको चट्टोग्राममा बिहीबार आयोजित ‘नेपाल–बङ्गलादेश आर्थिक सहकार्यः व्यापार तथा पर्यटन सम्बन्ध सुदृढीकरण’ विषयक कार्यक्रममा यस्तो जोड दिइएको हो।
कार्यक्रममा ढाकास्थित नेपाली राजदूतावासका उपप्रमुख प्रतीक कार्कीले नेपाल र बङ्गलादेशबीच आर्थिक साझेदारीका क्षेत्रमा निरन्तर प्रगति भइरहेको बताए।
उनले व्यापार, ऊर्जा, हवाई सम्पर्क, पर्यटन तथा जनस्तरको सम्बन्धलाई सहकार्यका प्रमुख क्षेत्रका रूपमा उल्लेख गर्दै चट्टोग्रामका व्यवसायीलाई नेपालको निजी क्षेत्रसँग साझेदारी गर्न आग्रह गरे।
त्यस्तै, दूतावासका प्रथम सचिव योजना बम्जनले दुई देशबीच आर्थिक सहकार्यका सम्भावना तथा व्यवसायीबीच साझेदारी विस्तारका अवसरबारे जानकारी गराएका थिए।
कार्यक्रमले नेपाल र बङ्गलादेशबीच व्यापारिक सम्बन्ध विस्तार तथा पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रको सहभागिता बढाउने अपेक्षा गरिएको छ।