अनुदानको मलको हिसाब देखाउन नसक्ने कृषि भण्डारलाई दुई लाख जरिवाना
अनुदानमा प्राप्त रासायनिक मलको बिक्री तथा मौज्दात विवरण देखाउन नसकेपछि झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित संजिवनी कृषि भण्डारलाई जिल्ला प्रशासन कार्यालयले दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।
अनुदानित रासायनिक मल अनधिकृत रूपमा बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रशासनले गरेको आकस्मिक अनुगमनमा भण्डारमा मलको मौज्दात र बिक्री विवरणमा अनियमितता भेटिएको हो ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार भण्डारका सञ्चालक प्रेमकुमार भट्टराईले साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेड, बिर्तामोडबाट ४०० बोरा मल खरिद गरेका थिए । तर अनुगमनका क्रममा गोदाममा २४१ बोरा मात्रै मल भेटिएको थियो ।
भण्डारले १७० बोरा युरिया र २३० बोरा डीएपी खरिद गरेकोमा गोदाममा १२० बोरा युरिया र १२१ बोरा डीएपी मात्रै फेला परेको थियो । बाँकी ५० बोरा युरिया र १०९ बोरा डीएपी गरी कुल १५९ बोरा मलको बिक्री तथा मौज्दात विवरण सञ्चालकले देखाउन नसकेपछि कारबाही गरिएको हो ।
उपभोक्ता हित संरक्षण ऐनबमोजिम भण्डारलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।
सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको संयोजकत्वमा कृषि ज्ञान केन्द्र, उद्योग वाणिज्य संघ, जनप्रतिनिधि तथा उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिसहितको टोलीले अनुगमन गरेको थियो ।
यसैबीच, बुद्धशान्ति गाउँपालिका–३ कै ७ नम्बर चोकस्थित न्यू कञ्चन कृषि सहकारी संस्थाको समेत अनुगमन गरिएको थियो । उक्त संस्थाको मल खरिद, बिक्री तथा मौज्दात विवरण भने दुरुस्त पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।