कालीगण्डकी करिडोरमा सुक्खा पहिरो, सडक पूर्ण रूपमा अवरुद्ध
कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको राक्से सडकखण्डमा सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। कालीगण्डकी गाउँपालिका–२ स्थित सडकमा शुक्रबार बिहान सडक माथिबाट चट्टानसहितको सुक्खा पहिरो खसेपछि यातायात ठप्प भएको हो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार पहिरो खसेर सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ।
कालीगण्डकी गाउँपालिका र प्रहरीको समन्वयमा सडकमा थुप्रिएको पहिरो हटाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिएका छन्।
सडक अवरुद्ध भएपछि गुल्मीबाट पाल्पा, बुटवल, बागलुङ, पर्वत, म्याग्दी तथा पोखरातर्फ आवतजावत गर्ने सवारीसाधन र यात्रु बाटोमै रोकिएका छन्।
सडक माथिबाट चट्टानसहितको पहिरो झरिरहेको र पहिरो पन्छाउने काममा जोखिम हुन सक्ने भएकाले सडक खुलाउन केही समय लाग्ने प्रहरीले जनाएको छ।