संरक्षित वन्यजन्तुको अंगसहित तीन जना पक्राउ
नेपाल प्रहरीले संरक्षित वन्यजन्तुको अवैध ओसारपसारमा संलग्न रहेको आरोपमा भालुको पित्त र हात्तीको दाह्रासहित तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), लैनचौरको टोलीले नवलपरासीका योगेन्द्रप्रसाद चौधरीलाई भालुको पित्तसहित तथा सिन्धुलीका सोमबहादुर माझी र महोत्तरीका चित्रबहादुर विश्वकर्मालाई हात्तीको दाह्रासहित पक्राउ गरेको हो।
सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर राणाका अनुसार चौधरीलाई काठमाडौंको सोह्रखुट्टेबाट १४० ग्राम तौलको भालुको पित्त एक थानसहित पक्राउ गरिएको हो। यस्तै, माझी र विश्वकर्मालाई सिन्धुलीको कमलामाई क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट ६ किलोग्राम तौलको हात्तीको दाह्रा बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चौधरीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौंमा बुझाइएको छ। माझी र विश्वकर्मालाई भने डिभिजन वन कार्यालय सिन्धुलीमा बुझाइएको सीआईबीले जनाएको छ।