कांग्रेसको नयाँ नेतृत्वका लागि आज मनोनयन दर्ता
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। काठमाडौंको खुलामञ्चमा जारी महाधिवेशनअन्तर्गत केन्द्रीय निर्वाचन समितिले विभिन्न पदका लागि उम्मेदवारी दर्ताको समय निर्धारण गरेको हो।
केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको दरखास्त तथा मनोनयनपत्र दर्ता गरिनेछ।
निर्वाचन कार्यतालिकाअनुसार आज अपराह्न ४ः३० बजे उम्मेदवारको पहिलो नामावली प्रकाशन हुनेछ। त्यसपछि ४ः३० देखि साँझ ५ः३० बजेसम्म उम्मेदवारीमाथि दाबी–विरोध गर्ने समय तोकिएको छ। बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ।
निर्वाचन प्रक्रियासँगै महाधिवेशनको बन्दसत्र पनि दिनभर समानान्तर रूपमा सञ्चालन हुनेछ।
असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ भने बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।
त्यसपछि असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ।
मतदानका लागि राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवन गरी तीन स्थान तोकिएका छन्। बागमती प्रदेशका प्रतिनिधिका लागि राष्ट्रिय सभागृह, गण्डकी र लुम्बिनी प्रदेशका लागि प्रज्ञा भवन तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिका लागि खुलामञ्चमा मतदान गर्ने व्यवस्था मिलाइएको छ।
नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनपछि असोज २२ गते मतदान हुने गरी कांग्रेसले निर्वाचन कार्यतालिका अघि बढाएको हो।