सरकारका प्रवक्ता पोखरेलले राजनीतिक बिटका पत्रकारसँग अन्तरक्रिया गर्ने
काठमाडौं, १९ साउन — सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विभिन्न सञ्चारमाध्यममा राजनीतिक विषयमा कलम चलाउने पत्रकारसँग मंगलबार अन्तरक्रिया गर्ने भएका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा दिउँसो ३ बजे आयोजना हुने कार्यक्रममा सूचना प्रवाहमा देखिएका समस्या, चुनौती, नीतिगत सुधार तथा सरकार र सञ्चारमाध्यमबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ।
अन्तरक्रियामा सरकारी सूचना प्रवाहलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उपायबारे छलफल गर्नुका साथै समाचार सम्प्रेषणका क्रममा पत्रकारले भोग्दै आएका समस्या र चुनौतीबारे पनि विचार आदानप्रदान गरिनेछ।
छलफलका लागि विभिन्न सञ्चारमाध्यममा राजनीतिक बिट हेर्ने पत्रकारलाई आमन्त्रण गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्री पोखरेलले पछिल्लो समय सञ्चार, शिक्षा तथा राजनीतिक क्षेत्रका पत्रकार, शैक्षिक संस्था र निजी क्षेत्रका प्रतिनिधिसँग निरन्तर संवाद गर्दै आएका छन्। यस्ता छलफलबाट प्राप्त सुझावका आधारमा नीतिगत सुधार र पारदर्शितालाई प्राथमिकता दिइएको मन्त्रालयको भनाइ छ।