गत वर्ष १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार
काठमाडौं, १९ साउन — राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा १०३ जना गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका महिलालाई नेपाली सेनाको सहयोगमा हवाई उद्धार गरेको जनाएको छ।
मन्त्रालयले ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको उद्धारका लागि ‘हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७७’ लागू गरेको छ। कार्यविधिअनुसार लामो प्रसव व्यथा, अत्यधिक रक्तश्राव, पाठेघर फुट्ने जोखिम, गर्भसम्बन्धी जटिलता लगायतका अवस्थामा रहेका महिलालाई हवाई उद्धार गरिन्छ।