कान्तिपुर र पशुपति सहकारीका ३४१ बचतकर्ताले पाए रकम फिर्ता
काठमाडौं — समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ जना साना बचतकर्ताको बचत फिर्ता गरेको छ।
समितिका अनुसार कान्तिपुर सेभिङ सहकारीका ३३४ जना र पशुपति सहकारीका सात जना बचतकर्ताले रकम फिर्ता पाएका हुन्।
सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त रकम नै बचतकर्तालाई फिर्ता गरिएको जनाएको छ। समितिका अनुसार साउन १ गतेदेखि १५ गतेसम्म विभिन्न सहकारीका ६५ जना ऋणीबाट रकम असुल गरिएको छ।
पहिलो चरणमा थोरै बचत भएका बचतकर्तालाई रकम फिर्ता गरिएको र बचत रकमका आधारमा वर्गीकरण गरी क्रमशः अन्य बचतकर्ताको रकम फिर्ता गरिने समितिले जनाएको छ।
समस्याग्रस्त सहकारी संस्थाको ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया कानुनी व्यवस्थाअनुसार निरन्तर जारी रहेको समितिले जनाएको छ।