नागपोखरीबाट ३२९ ग्राम हेरोइनसहित चार जना पक्राउ
काठमाडौं — काठमाडौंको नागपोखरीस्थित एक घरबाट प्रहरीले ३२९.०५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।
प्रहरी वृत्त मालिगाउँबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा साउन १८ गते प्रभात तिवारीको घर र बा ७ च ५१८० नम्बरको गाडी जाँच गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा घरधनी प्रभात तिवारीसहित ललितपुरका सलिन श्रेष्ठ, काठमाडौं बल्खुका भुपेन्द्र श्रेष्ठ र सर्लाहीका सुजन रायमाझी रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट खैरो हेरोइन, २२१ क्याप्सुल ट्रामाडोल, १०० ट्याब्लेट नाइट्राजेपाम, १ लाख ९८ हजार ३२५ रुपैयाँ नगदसहित ल्यापटप, डिजिटल तराजु, सञ्चार सेट, एलमुनियम पेपर रोल र मोबाइल बरामद गरिएको छ।
पक्राउ परेकाहरूमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।