एआईमा लगानी विस्तार गर्न अलिबाबाले १० अर्ब डलरभन्दा बढी जुटाउने
काठमाडौं — चिनियाँ प्रविधि कम्पनी Alibaba Group ले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी विस्तार गर्न हङकङमा नयाँ शेयर निष्कासनमार्फत ८० अर्ब हङकङ डलर (करिब १०.२ अर्ब अमेरिकी डलर) जुटाउने योजना सार्वजनिक गरेको छ।
हाङजाउमा मुख्यालय रहेको अलिबाबाले आइतबार जारी गरेको विज्ञप्तिमा शेयर निष्कासनबाट प्राप्त सम्पूर्ण रकम एआईसम्बन्धी पूर्वाधार विस्तार तथा कम्पनीको ‘फुल–स्ट्याक एआई क्षमता’ विकासमा लगानी गरिने जनाएको छ।
कम्पनीका अनुसार नयाँ शेयर निष्कासनको उद्देश्य विश्वव्यापी एआई क्षेत्रमा आफ्नो नेतृत्व थप विस्तार गर्नु हो। अलिबाबाले पछिल्लो समय एआई प्रविधिमा ठूलो लगानी गर्दै आएको छ।
कम्पनीका शेयरधारकहरूले भने एआईमा भइरहेको ठूलो लगानीबाट अपेक्षित प्रतिफल प्राप्त हुने विषयमा चासो व्यक्त गर्दै आएका छन्।
अलिबाबाले बिहीबार सार्वजनिक गरेको पछिल्लो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको राजस्व करिब २६९ अर्ब युआन (करिब ४० अर्ब अमेरिकी डलर) पुगेको छ। विश्वव्यापी रूपमा एआई प्रविधिको माग बढेसँगै कम्पनीका एआई तथा अन्य प्रविधिजन्य उत्पादनको मागसमेत बढेको जनाइएको छ।
अलिबाबा आफ्नो खुला स्रोतको ‘क्वेन’ एआई मोडलका लागि पनि परिचित छ। कम्पनीका अनुसार उक्त मोडल विश्वभरका विकासकर्तामाझ लोकप्रिय बन्दै गएको छ।
नयाँ शेयर निष्कासनबाट जुट्ने ठूलो रकमले अलिबाबाको एआई पूर्वाधार, मोडल विकास तथा सम्बन्धित प्रविधिमा लगानी बढाउने अपेक्षा गरिएको छ।