बिहारको बाँकीपुरमा प्रशान्त किशोर विजयी, भाजपाको ३० वर्षे किल्ला ढल्यो
पटना — भारतको बिहारस्थित बाँकीपुर विधानसभा सिटमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर विजयी भएका छन्।
भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीन राज्यसभामा निर्वाचित भएपछि खाली भएको उक्त सिटमा जुलाई ३० मा भएको उपनिर्वाचनमा किशोरले भाजपाका उम्मेदवार नीरज कुमारलाई १९ हजार ३२४ मतान्तरले पराजित गरेका हुन्।
किशोरले ६४ हजार १५१ मत प्राप्त गर्दा नीरज कुमारले ४४ हजार ८२७ मत पाए। सन् १९९५ देखि लगातार भाजपाले जित्दै आएको बाँकीपुर सिटमा किशोरको जितसँगै पार्टीको तीन दशक लामो वर्चस्व समाप्त भएको छ।
विजयपछि प्रतिक्रिया दिँदै किशोरले ३० वर्षदेखि कायम रहेको भाजपाको किल्ला छोटो समयको प्रयासमै ढलेको दाबी गरे। उनले यो निर्वाचन केवल एक क्षेत्रको प्रतिनिधि चयनका लागि नभई प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलाई राजनीतिक सन्देश दिनका लागि पनि महत्वपूर्ण रहेको बताए।
यसैबीच, उपनिर्वाचन भएका अन्य क्षेत्रमध्ये मध्यप्रदेशको डाटिया विधानसभा क्षेत्रमा कांग्रेसका घनश्याम सिंहले भाजपाका आशुतोष तिवारीलाई ६ हजार १६ मतान्तरले पराजित गरेका छन्। गुजरातको मञ्जपुरमा भने भाजपाका सतेन्द्रभाइ पटेलले कांग्रेसका भिखाभाई रबरीलाई ३० हजार मतान्तरले हराउँदै जित हात पारेका छन्।