ब्रोड पिकबाट शव उद्धारका लागि नेपाली टोली क्याम्प–१ तर्फ अघि बढ्दै
काठमाडौं — पाकिस्तानस्थित ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएका नेपालीसहितका पर्वतारोहीहरूको शव उद्धारका लागि खटिएको नेपाली ग्राउन्ड टिमले उद्धार अभियान तीव्र बनाएको छ।
उद्धार स्थलबाट नेपाली पर्वतारोही मिग्मा डेभिड शेर्पाले दिएको जानकारीअनुसार हालको स्थानबाट टोलीलाई क्याम्प–१ सम्म ल्याउने तयारी भइरहेको छ। क्याम्प–१ पुगेपछि टोलीलाई भोलि जापानी क्याम्पतर्फ लैजाने योजना रहेको उनले बताएका छन्।
मौसम र हिमालको अवस्था अनुकूल भए जापानी क्याम्पबाट हेलिकोप्टरमार्फत शव उद्धार गर्ने सम्भावना रहेको शेर्पाले जानकारी दिएका छन्। यद्यपि, हेलिकोप्टर उद्धार मौसम तथा हिमालको जोखिमपूर्ण अवस्थामै निर्भर रहनेछ।
उद्धार अभियानको मुख्य उद्देश्य दिवंगत पर्वतारोहीहरूको शव सुरक्षित रूपमा उद्धार गरी सम्मानपूर्वक स्वदेश फर्काउनु रहेको शेर्पाले बताएका छन्। उद्धारमा संलग्न सबै टोलीको सुरक्षालाई प्राथमिकतामा राखेर निर्णय लिइरहेको उनको भनाइ छ।
ब्रोड पिकमा गएको हिमपहिरोपछि नेपालीसहित विभिन्न देशका पर्वतारोही प्रभावित भएका थिए। कठिन भूगोल, प्रतिकूल मौसम र जोखिमपूर्ण हिमाली अवस्थाका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।
शेर्पाले उद्धार अभियानमा सहयोग र समन्वय गर्ने नेपाल सरकार, पाकिस्तान सरकार, दुवै देशका कूटनीतिक नियोग, पाकिस्तानी सेना, अल्पाइन क्लब अफ पाकिस्तान तथा मृतकका परिवार र शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले दिवंगत आरोहीहरूलाई सम्मानपूर्वक घर फर्काउने अभियानका लागि निरन्तर सहयोग र शुभेच्छाको आग्रहसमेत गरेका छन्।