अवैध भीओआईपी सञ्चालनमा संलग्न चार पक्राउ, अनलाइन सट्टेबाजीसँग पनि जोडिएको आशंका
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) सञ्चालन गरी दूरसञ्चार राजस्व चुहावट गरेको आरोपमा काठमाडौं र भक्तपुरबाट चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा गोरखा घर भई काठमाडौं बस्ने २२ वर्षीय प्रोशेष गुरुङ, काठमाडौंकी २० वर्षीया मुना श्रेष्ठ, कञ्चनपुर घर भई भक्तपुर बस्ने २१ वर्षीय जेनित झुकाल तथा भक्तपुरका ३४ वर्षीय कृष्ण नगरकोटी रहेका छन्।
सीआईबीका अनुसार विशेष सूचनाका आधारमा गरिएको कारबाहीका क्रममा उनीहरूका डेरा तथा कोठाबाट ठूलो परिमाणमा सिम बक्स, ल्यापटप, राउटर र सयौं संख्यामा एनसेलका सिमकार्ड बरामद गरिएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार जेनित झुकालको साथबाट पाँच थान सिम बक्स र १९३ थान सिमकार्ड फेला परेको छ। यस्तै, कृष्ण नगरकोटी भीओआईपी सञ्चालनको तयारी गरिरहेको अवस्थामा पक्राउ परेका हुन्।
अनुसन्धानका क्रममा उक्त समूहले अन्तर्राष्ट्रिय कल बाइपासका साथै ‘NPR77casino.com’, ‘IME88.com’ र ‘Khalti88.com’ लगायतका अनलाइन सट्टेबाजी प्लेटफर्म सञ्चालन तथा प्रयोगमा पनि संलग्न रहेको प्रारम्भिक रूपमा खुलेको प्रहरीले जनाएको छ। उनीहरूमाथि दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक अनुप शमशेर ज.ब.रा.का अनुसार काठमाडौंबाट पक्राउ परेका दुई जनालाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिन तथा भक्तपुरबाट पक्राउ परेका दुई जनालाई जिल्ला अदालत भक्तपुरबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।
प्रहरीले घटनामा अन्य व्यक्तिको संलग्नता, आर्थिक कारोबार तथा सम्भावित आपराधिक सञ्जालबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।