रास्वपा महाधिवेशन: प्रतिनिधि शुल्क नलिने, फिर्ता प्रक्रिया समेत खुला
चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूबाट लिइँदै आएको शुल्क अब नलिने निर्देशन दिएका छन्।
महाधिवेशनको अवधि केही लम्बिएको अवस्थालाई ध्यानमा राख्दै प्रतिनिधिबाट अनिवार्य रूपमा लिइने पाँच हजार रुपैयाँ शुल्क अब लागू नहुने स्पष्ट गरिएको छ।
पार्टीका अनुसार शुल्क बुझाइसकेका प्रतिनिधिहरूले आर्थिक समस्या भएमा आवश्यक प्रक्रिया पूरा गरी रकम फिर्ता लिन सक्ने व्यवस्था पनि मिलाइएको छ।
महाधिवेशनका क्रममा प्रतिनिधिहरूको बसोबास, खानपान तथा व्यवस्थापनमा समस्या नहोस् भनेर सम्बन्धित संयन्त्रलाई आवश्यक सहजीकरण गर्न निर्देशन दिइएको जनाइएको छ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन चितवनमा जारी छ। देशभरबाट आएका प्रतिनिधिहरूले नेतृत्व चयन, संगठन सुदृढीकरण तथा भावी राजनीतिक दिशाबारे छलफल गरिरहेका छन्।