अयोध्यामा रवि लामिछाने, राम मन्दिर दर्शन गर्ने
भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भ्रमण टोलीसहित भारतको अयोध्या पुगेका छन्।
नयाँ दिल्लीमा विभिन्न राजनीतिक भेटघाट तथा कूटनीतिक संवाद सम्पन्न गरेपछि सभापति लामिछाने नेतृत्वको रास्वपा टोली उत्तर प्रदेशस्थित अयोध्यातर्फ प्रस्थान गरेको हो।
भ्रमणका क्रममा लामिछानेले अयोध्यास्थित नवनिर्मित राम मन्दिर को दर्शन गर्नुका साथै मन्दिरसँग सम्बन्धित अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।
रास्वपाले भारत भ्रमणलाई राजनीतिक तथा कूटनीतिक सम्बन्ध विस्तारका दृष्टिले महत्वपूर्ण रूपमा लिएको बताइएको छ। नयाँ दिल्लीमा विभिन्न पक्षसँग संवाद सम्पन्न गरेपछि टोली धार्मिक तथा सांस्कृतिक महत्व बोकेको अयोध्याको भ्रमणमा पुगेको हो।