प्रधानाध्यापक र लेखापालविरुद्ध ९३ लाखको भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–२ स्थित श्री हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध करिब ९३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार विद्यालयका प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यले विद्यालय भवन निर्माणका क्रममा झुट्टा बिल भर्पाई बनाएर सरकारी रकम हिनामिना गरेको देखिएपछि मंगलबार मुद्दा दायर गरिएको हो। भवन निर्माणको प्राविधिक मूल्यांकनभन्दा ५९ लाख २६ हजार ६ सय ८६ रुपैयाँ बढी भुक्तानी लिएर उनीहरूले अनियमितता गरेको अख्तियारको भनाइ छ ।
भवन निर्माण बाहेक प्रधानाध्यापक र लेखापालको आपसी मिलेमतोमा आर्थिक वर्ष २०७७/७८ देखिकै नगद मौज्दात हिनामिना गरेको समेत अनुसन्धानबाट खुलेको छ। उनीहरूले १६ लाख ६० हजार १ सय १ रुपैयाँ बेरुजु राखेको र १७ लाख ९६ हजार ५ सय २१ रुपैयाँ विद्यालयको नगद रकम व्यक्तिगत प्रयोगमा ल्याएको अख्तियारले जनाएको छ।
अख्तियारले दुवै प्रतिवादीबाट कुल ९३ लाख ८३ हजार ३ सय ९ रुपैयाँ ७२ पैसा बिगो दाबी गरेको छ। उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद सजाय र बिगो बमोजिम जरिवाना गरी हिनामिना भएको रकम असुल उपर गर्न मागदाबी लिइएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।