लुम्बिनीमा धार्मिक पर्यटन जोड्दै समृद्धि अभियान: मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक स्थल तथा मठ-मन्दिरलाई पर्यटनसँग जोड्दै समृद्ध प्रदेश निर्माणको अभियानमा प्रदेश सरकार अघि बढेको बताएका छन् ।
तुलसीपुर उपमहानगरपालिका-१३, अम्बापुरस्थित मदन बाबा भक्ति केन्द्रमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्राचीन सभ्यता र मानव विकाससँग जोडिएका स्थलहरूको प्रवर्द्धनबाटै प्रदेशले समृद्धि हासिल गर्ने बताएका हुन् ।
उनले लुम्बिनी प्रदेशलाई देवभूमि, तपोभूमि र ज्ञानको भण्डारको रूपमा चित्रण गर्दै यस क्षेत्रका धार्मिक तथा सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोड्ने योजनाअनुसार काम अघि बढाइएको जानकारी दिए ।
‘धार्मिक पर्यटक भित्र्याउने पर्याप्त आधारहरू छन् । आध्यात्मिक, धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि प्राचीन सम्पदाको संरक्षण अपरिहार्य छ,’उनले भने ।
कार्यक्रममा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दाङको समग्र विकासका लागि ऐतिहासिक तथा धार्मिक स्थलहरूको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताए ।
उनले सरयू नदी द्वापर युगसँग सम्बन्धित रहेको तथा सुकौरास्थित दंगिशरण दरबारमा छैटौँ शताब्दीका प्राचीन सामग्री फेला परेको स्मरण गराउँदै यस क्षेत्रको पहिचान र विकासमा ध्यान दिनुपर्ने धारणा राखे ।
भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले धार्मिक पर्यटकीय स्थलहरूमा आवश्यक पूर्वाधार विकास र सुविधा विस्तारका लागि एकीकृत योजना आवश्यक रहेको बताए ।
उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले बजेट तथा कार्यक्रममार्फत पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
त्यस्तै, शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले लुम्बिनी प्रदेशको दीगो विकासका लागि धार्मिक स्थललाई पर्यटनसँग जोडेर अघि बढ्नु आवश्यक रहेको धारणा व्यक्त गरे ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले मदन बाबाले २७ फिट अग्लो शिव भगवानको मूर्ति, महालक्ष्मी मन्दिर, वीरभद्र भगवानको मूर्ति निर्माण, स्थलसम्म पुग्न सिँढी निर्माण, पुष्प वाटिका स्थापना लगायतका योजनासहित धार्मिक केन्द्र विकास गर्नुपर्ने प्रस्ताव प्रस्तुत गरे ।
उनले सितलपुर बबई (सरयू गङ्गा) नदीमा माघे स्नानको अवसरमा कुम्भ मेलाजस्तै धार्मिक मेला आयोजना गरी उक्त क्षेत्रलाई धार्मिक तथा सांस्कृतिक केन्द्रका रूपमा विकास गर्ने योजना पनि सुनाए ।
कार्यक्रममा संविधानसभा सदस्य बुद्धिराम भण्डारी, प्रदेशसभाका पूर्व सदस्य अर्जुन गिरी, नेपाली कांग्रेसका क्षेत्रीय सभापति देवेन्द्र रिजाल, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला उपसभापति अर्जुन केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।