भक्तपुरमा लागूऔषधसहित एक जना पक्राउ
जिल्ला प्रहरी परिसर भक्तपुरले ठूलो परिमाणको अवैध लागूऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ । हिजो साँझ सूर्यविनायक नगरपालिका–५ सल्लाघारीस्थित सडक खण्डमा चेकजाँच गर्ने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुली जिल्लाको हरिहरपुर गाउँपालिका– ८ घर भई हाल भक्तपुरको दार्जिलिङ हाइट बस्ने ३० वर्षीय प्रकाश पाख्रिन रहेका छन् ।
प्रहरी प्रभाग ब्यासीबाट खटिएको प्रहरी टोलीले पाख्रिनले चलाएको बा.प्र.०२-०६४ प ४९८५ नम्बरको स्कुटरलाई रोकेर खानतलासी गर्दा लुकाईछिपाई ल्याएको अवस्थामा ठूलो परिमाणमा लागूऔषध बरामद भएको थियो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक शुभेश अधिकारीका अनुसार पक्राउ परेका पाख्रिन र उनले प्रयोग गरेको स्कुटरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य अगाडि बढाइएको छ ।