नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा होमबहादुर भारती दोषी ठहर, कैद र जरिवानाको फैसला
विशेष अदालतले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको अभियोगमा होमबहादुर भारतीलाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला सुनाएको छ ।
मङ्गलबार विशेष अदालतका अध्यक्ष हेमन्त रावल तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले भारतीलाई भ्रष्टाचार निवारण ऐन बमोजिम दोषी ठहर गरेको हो ।
अदालतले भारतीलाई ६ महिना कैद सजाय र १० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ । साथै अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम ४ सय रुपैयाँ क्षतिपूर्ति शुल्क समेत असुल गर्न भनेको छ ।
प्रतिवादी होमबहादुर भारतीले तनहुँको देवघाट गाउँपालिकामा २०७५ सालदेखि २०८१ सालसम्म विभिन्न समयमा सरसफाइ सुपरिवेक्षक, उत्प्रेरक, संयोजक र सामाजिक परिचालक पदमा करार सेवामा कार्यरत रहेका थिए ।
सो पदमा नियुक्ति पाउनका लागि उनले २०५५ सालमा ४६६ प्राप्तांकसहित प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेको भनी नक्कली प्रमाणपत्र र लब्धाङ्क पत्र (सिम्बोल नम्बर ०२५२४४३१–एम) पेस गरेका थिए।