इन्द्रावतीमा क्रसरको असर: माझी समुदायको पुर्ख्यौली माछा मार्ने पेसा संकटमा
इन्द्रावती गाउँपालिका–११ भिमटारका माझी समुदायको पुर्ख्यौली पेसा माछा मार्ने काम अहिले गम्भीर सङ्कटमा परेको छ। ४५ वर्षीय बाटुले माझीसहित स्थानीय माछा मार्ने समुदायले पछिल्लो समय नदीमा माछा पाइनै छाडेको गुनासो गरेका छन्।
स्थानीयका अनुसार अव्यवस्थित क्रसर उद्योग, विषादी र विस्फोटक पदार्थको प्रयोग बढेसँगै इन्द्रावती नदी मा माछाको संख्या उल्लेख्य रूपमा घटेको छ। पदमबहादुर माझीले बाल्यकालमा जता जाल हाने पनि माछा पाइने अवस्था अहिले दिनभर जाल घिसार्दा पनि आधा पाउ माछा नपाइने अवस्थामा पुगेको बताए।
नवराज माझीले माछा नपाए पनि जीविकाका लागि नदी धाउन नछाडेको उल्लेख गर्दै पछिल्लो समय यो कामसमेत उपलब्धिमूलक हुन छाडेको बताए। दोलालघाटदेखि मेलम्चीसम्म २४ भन्दा बढी क्रसर उद्योग सञ्चालनमा रहेकाले नदीको धार परिवर्तन हुँदै गएको स्थानीयको भनाइ छ।
क्रसरले गिट्टी–बालुवा उत्खनन गर्दा नदीमा पाइने लेउ र झ्याउ नष्ट भएको र त्यसले माछाको आहारमा असर पुर्याएको उनीहरूको अनुभव छ। विगतको एक अध्ययनअनुसार मध्यम तथा साना खोलामा माछाको प्रजनन दर करिब ३० प्रतिशतले घटेको देखिएको छ।
माछा मारेर जीविका चलाउने भिमटारका चार परिवार गाउँ नै छाडिसकेका छन्। क्रसर उद्योगको निरन्तर आवाज र वातावरणीय असरले माझी समुदायको दैनिकी प्रभावित भएको छ। पहिले प्रयोग हुने डुङ्गा, खोगा र ढडिया जस्ता सामग्री अहिले प्रयोगविहीन बन्दै गएका छन्।
स्थानीयले विकास र आन्तरिक आम्दानीका नाममा वातावरणीय सन्तुलन बेवास्ता गरिएको आरोप लगाउँदै पुर्ख्यौली पेसा, नदी संस्कृति र माझी समुदायको अस्तित्व नै जोखिममा परेको बताएका छन्।