युक्रेन–रुस युद्धमा दोहोरो आक्रमण, दुवै पक्षमा मानवीय क्षति; तुआप्सेमा भीषण आगलागी
युक्रेन–रुस युद्धका क्रममा मंगलबार भएको दोहोरो आक्रमणमा दुवै पक्षमा मानवीय क्षति भएको छ। रुसको बेलगोरोड सीमा क्षेत्रमा युक्रेनी ड्रोन आक्रमण हुँदा तीन जना सर्वसाधारणको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
बेलगोरोड क्षेत्रीय गभर्नर व्याचेस्लाव ग्ल्याडकोभका अनुसार एउटा कारलाई लक्षित गरी गरिएको आक्रमणमा एक पुरुष र एक महिलाको मृत्यु भएको हो भने अन्य तीन जना घाइते भएका छन्।
यता, मध्य युक्रेनको क्रिवी रिग सहरमा भएको रूसी आक्रमणमा एक जनाको मृत्यु र पाँच जना घाइते भएको ड्निप्रोपेट्रोभस्क क्षेत्रीय प्रशासनले जनाएको छ।
यसैबीच, दक्षिणी रूसको प्रमुख तेल प्रशोधन केन्द्र रहेको तटीय सहर तुआप्समा युक्रेनी ड्रोन आक्रमणपछि भीषण आगलागी भएको छ। तुआप्से मा लागेको आगोका कारण बाक्लो कालो धुवाँ फैलिएपछि स्थानीय प्रशासनले आपतकालीन अवस्था घोषणा गर्दै नजिकका बासिन्दालाई घरमै बस्न र झ्याल बन्द राख्न निर्देशन दिएको छ।
रुसले यस आक्रमणलाई युक्रेनको ऊर्जा पूर्वाधार लक्षित रणनीतिक आक्रमणको हिस्सा भनेको छ भने किभले यसलाई रूसको सैन्य क्षमतामा असर पुर्याउने उद्देश्यले गरिएको प्रतिक्रिया आक्रमण बताएको छ।