वडाबाटै भू–प्रशासन सेवा सुरु गर्न काठमाडौँ महानगरमा कर्मचारी तालिम प्रारम्भ
काठमाडौँ — वडास्तरबाट भू–प्रशासन सेवा प्रारम्भ गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले कर्मचारीका लागि क्षमता विकास तालिम सुरु गरेको छ। महानगरपालिकाको ४७औँ कार्यपालिका बैठकको निर्णयअनुसार नमूना कार्यक्रमका रूपमा १० वटा वडाबाट सेवा सुरु गर्न लागिएको हो।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र महानगरपालिकाको संयुक्त आयोजनामा सञ्चालन गरिएको तालिममा वडा नं. ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ का गरी हरेक वडाबाट ३–३ जना कर्मचारी सहभागी छन्।
तालिम उद्घाटन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा. डा. कुमार इङ्नामले भू–सेवा स्थानीय तहबाट प्रवाह गर्दा नागरिकले सहज सेवा पाउने बताए। स्थानीय जनप्रतिनिधिको रोहवरमा सेवा दिँदा पहिचान र पारदर्शिता सहज हुने उल्लेख गर्दै उनले काठमाडौँ महानगरलाई भू–सेवामा अनुकरणीय बनाउने प्रतिबद्धता व्यक्त गरे।
महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले संविधानले दिएको अधिकारको पूर्ण कार्यान्वयन गर्दै नागरिकमैत्री, झन्झटरहित र प्रभावकारी भू–सेवा सञ्चालन गरिने बताइन्। नमूना कार्यक्रम सफल भएपछि अन्य वडामा समेत सेवा विस्तार गरिने र कर्मचारी क्षमता विकासमा निरन्तर जोड दिइने उनले भनिन्।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले पूर्वाधार र जनशक्ति अभावका कारण संघ सरकारले गर्दै आएको भू–प्रशासन सेवा अब वडाबाटै प्रदान गरिने जानकारी दिए। यसबाट नागरिकले छिटो, सरल र पारदर्शी सेवा पाउने विश्वास व्यक्त गरे।
कार्यक्रमअन्तर्गत भूमिको स्वामित्व र हक सम्बन्धी सेवा, लेखापढी, अभिलेख व्यवस्थापन, रोक्का तथा फुकुवा सिफारिस, कर तथा राजस्व सेवा, नागरिक परामर्श, वायोमेट्रिक विवरण संकलन, बैंक रोक्का तथा फुकुवा प्रक्रिया लगायत सेवा वडाबाटै उपलब्ध गराइनेछ।
तालिममा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख काजीबहादुर विष्ट, मन्त्रालयका उपसचिव रोशन घिमिरे र भूमि व्यवस्थापन तथा अभिलेख विभागका कम्प्युटर अधिकृत बलराम काफ्लेले प्रशिक्षण दिइरहेका छन्। प्रशिक्षणमा जग्गा प्रशासन, नामसारी, लिखत पारित, न्यूनतम मूल्याङ्कन, रजिष्ट्रेसन शुल्क तथा जग्गाधनी प्रमाण पुर्जा जारी गर्ने विषय समेटिएको छ।