खापुङ नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त
सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आइजिपी)मा चन्द्रकुबेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई आइजिपी नियुक्त गर्ने निर्णय गरेको स्रोतले बतायो। उनी हाल एआइजीको रूपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को प्रमुख छन्।
अहिले आइजिपी दीपक थापा छन्। उनी भदौ १८ गते राति १२ बजेदेखि अवकाशमा जाँदैछन्। उनी अवकाशमा गएसँगै खापुङ नेपाल प्रहरीको ३२औं आइजिपी हुनेछन्।
प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन भ्रमणमा जाँदैछन्। भ्रमण जानुअघि नै बसेको बैठकले आइजिपी नियुक्त गरेको हो।
प्रधानमन्त्री ओली भदौ १८ गते फर्किनेछन्। त्यसकारण मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्रीको भ्रमण अघि नै आइजिपी नियुक्त गर्ने निर्णय गरेको छ।
२०२७ सालमा जन्मिएका खापुङ नेपाल प्रहरीको प्रहरी निरीक्षकमा २०५२ सालबाट सेवामा प्रवेश गरेका थिए।
नयाँ प्रहरी विधेयक पारित भएर कार्यान्वयनमा नआए उनी करिब तीन महिनाका लागि मात्रै आइजिपी बन्नेछन्। प्रहरी नियमावली अनुसार उनी पनि ३० वर्षे सेवा हदकै कारणले मंसिर २३ गतेसम्म मात्रै प्रमुख हुनेछन्। प्रहरी विधेयक आएको अवस्थामा भने फरक पर्न सक्नेछ।