शिवरात्रि पारेर एकसाथ हलमा लागे तीन फिल्म
बुधबार एकैदिन तीनवटा फिल्म प्रदर्शनमा आएका छन्। महाशिवरात्रि पर्वको अवसर पारेर 'लाज शरणम्', 'फेरि रेशम फिलिली' र 'मायावी' देशभरका हलमा रिलिज भएका हुन्। नेपालमा शुक्रबार फिल्म रिलिज गर्ने परम्परा रहे पनि यो साता पर्वको अवसर पार्दै बुधबारै रिलिज गरिएको हो।
'लाज शरणम्' चर्चित हास्य सिरियल सक्किगोनिको टिमले बताएको फिल्म हो। कुमार कट्टेलको निर्देशनमा बनेको फिल्ममा सीताराम कट्टेल (धुर्मुस), विजय बराल, अर्पण थापा, हरि निरौला, मुकुन्द श्रेष्ठ, विजय लामा, अर्जुन घिमिरे, सागर लम्साल, कमलमणि नेपाल, महेश त्रिपाठी, रेणुनाथ योगी, प्रियाना आचार्य, बबिन राई लगायतको अभिनय छ। सामाजिक कथामा बनेको यस फिल्मको रनटाइम २ घण्टा ४१ मिनेट तय छ।
निरोज महर्जन निर्देशित 'फेरि रेशम फिलिली' २०७२ सालमा रिलिज फिल्म 'रेशम फिलिली' को सिक्वेल हो।
'फेरि रेशम फिलिली' मा विनय श्रेष्ठ र सुपुष्पा भट्टले मुख्य भूमिकामा अभिनय गरेका छन्। साथमा कामेश्वर चौरासिया, नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, रविन्द्र झा लगायतको अभिनय छ। यसमा अमेरिका सपनाको कथा उठाइएको छ। कमेडी र मनोरञ्जनात्मक यो फिल्मको रनटाइम २ घण्टा २२ मिनेट तय छ।
दिवाकर भट्टराई निर्देशित 'मायावी' भने लभस्टोरी विधाको फिल्म हो। यसमा पल शाह, दीपिका प्रसाईं, प्रशान्त ताम्राकार, करिश्मा श्रेष्ठ, समिम खान, सुशील सिटौला लगायतले शीर्ष भूमिकामा अभिनय गरेका छन्। यो फिल्मको रनटाइम २ घण्टा २१ मिनेट छ।