विपद न्यूनीकरणका लागि मनसुन पूर्वतयारी र प्रतिकार्यको काम शुरू भइसक्यो: गृहमन्त्री लामिछाने
काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सरकारले मनसुनजन्य विपद न्यूनीकरणका लागि मनसुन पूर्वतयारी र प्रतिकार्य कमाण्ड पोस्टको स्थापना गरेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले यस्तो बताउनुभएको हो । विपद व्यवस्थापनका लागि विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले मनसुन पूर्वतयारी र प्रतिकार्य कमाण्ड पोस्टको स्थापना गरेको उहाँले जानकारी दिनुभयो ।
पोष्टले विपद अघिको पूर्वतयारीदेखि विपद पछि गर्नुपर्ने सबै प्रकारका काम गर्ने पनि उहाँले बताउनुभएको छ । बुधबारदेखि नै शुरु हुनेगरी ११४९ नम्बरको टोल फ्रि नम्बरलाई आगामी असोज २९ गतेसम्मका लागि २४ घण्टा विपद सम्बन्धी सूचना तथा जानकारी लिनका लागि खुला गरिएको समेत गृहमन्त्री लामिछाने बताउनुभयो ।