बागमती सफाई महाअभियान आजदेखि १२ औं वर्षमा प्रवेश
काठमाडौं । ‘राष्ट्रका लागि हप्तामा २ घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ शुरु भएको बागमती सफाइ महाअभियानले आज (शनिबार) देखि ११ औं वर्ष पूरा भएर १२ औं वर्षमा प्रवेश गरेको छ ।
२०७० साल जेठ ५ गते राजधानी काठमाडौंको सभ्यताको स्रोत बागमतीलाई स्नान गर्न योग्य बनाउने उद्देश्यका साथ सफाइ महाअभियान शुरु भएको थियो । पहिलो चरणमा पशुपति क्षेत्रसम्मको नदी सफा गर्ने लक्ष्य राखिएको थियो । ५० औं हप्ताको कार्यक्रममा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवलगायत विशिष्ट व्यक्तित्वले गौरीघाटमा मुख धोएका हुन् ।
सफाइ महाअभियानको नेतृत्व तत्कालीन मुख्यसचिव लिलामणि पौडेलले गर्नुभएको थियो। हालसम्म पनि उहाँको नेतृत्व जारी रहेको छ । तत्कालीन सयमदेखि प्रत्येक हप्ता शनिबार बिहान गर्मीमा ७ बजेदेखि ९ बजेसम्म र जाडोमा साढे ७ बजेदेखि साढे ९ बजेसम्म बागमती नदीका विभिन्न स्थानको किनारमा सफाइ हुने गरेको हो । महाअभियान शनिबारदेखि ५७५ औं हप्तामा प्रवेश गर्दैछ ।
बागमती हालसम्म २० हजार मेट्रिक टनभन्दा बढी फोहर व्यवस्थापन भएको हो । महाअभियानमा १५ लाख भन्दा बढीले नदीमै गएर फोहर उठाएका छन् । सफाइमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायत सरकारी एवं सामुदायिक संस्थाले पनि योगदान गरेका हुन् । धेरै मानिसले महाअभियानलाई सहयोग गरे पनि उद्देश्य अनुसार उपलब्धि हुन नसकेको गुनासो सुनिने गरेको छ ।
महाअभियान १२ औं वर्ष प्रवेश गरेकै समयमा देशभरका ७ सय ५३ वटा स्थानीय तहमा दोस्रो निर्वाचन सकिएको पनि २ वर्ष पूरा भएको हो । महाअभियानका अभियानकर्मी डा.माला खरेल फोहर व्यवस्थापनमा स्थानीय सरकारको साथ अत्यावश्यक पर्ने बताउँछन् । महाअभियानबाट प्रभावित भएर काठमाडौं उपत्यकामा बागमतीका सहायक नदी, बागमतीकै पनि विभिन्न स्थानमा सफाइ अभियान चलिरहेको छ ।
उपत्यकाका हाल गुह्येश्वरीमाथिको बागमती, तिलगंगा, आलोकनगर, सुन्दरीघाट, मैतीदेवी, रुद्रमती, विष्णुमतीको माथिल्लो, तल्लो भाग, चक्रपथका उत्तरी, पश्चिमी भाग, मनोहरा, ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेलगायत सांस्कृतिक सम्पदा गरी २५ स्थानमा सफाइ भइरहेको हो ।
काठमाडौं उपत्यका बाहिरका प्रमुख शहर, नदी र सांस्कृतिक सम्पदामा पनि सफाइ अभियान चलेको छ । काठमाडौं उपत्यका बाहिर करिब १ सय ९ भन्दा बढी स्थानमा सफाइ भइरहेको महाअभियानले जनाएको हो । महाअभियानले देशव्यापी रुपमा सफाइ जागरण फैल्याउन सफल भएको छ ।
अभियानको सफलताका लागि स्थानीय सरकारले साथ दिनुपर्ने अभियानकर्मीको माग रहेको हो । बागमती सफाइ महाअभियानबाट प्रभावित भएर देशभर चलिरहेको सफाइ अभियानले स्थानीय सरकारकै काममा सहयोग गरिरहेको भएपनि स्थानीय सरकारको ध्यान नजाँदा हुनुपर्ने जति प्रभावकारी नभएको टिप्पणी हुने गरेको छ ।
महाअभियानले १२ औं वर्ष प्रवेशको कार्यक्रम विशेष रुपमा गर्न लागेको जनाइएको छ । यसअघिका कार्यक्रम अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिसँगको सहकार्यमा गर्ने गरिएकामा यसपटक भने अभियानकर्मीकै समूहले गर्न लागेको अभियानकर्मी खरेलले सुनाए ।
तिलगंगा आँखा अस्पतालसँगैको चौरमा शनिबार हुने कार्यक्रममा सबै पेशा, व्यवसाय र क्षेत्रका प्रतिनिधिलाई आमन्त्रण गरिएको जनाइएको छ ।