संगठित अपराध, तर राजश्व चुहावटमा मात्र अनुसन्धान
नेपालको इतिहासमा सबैभन्दा ठूलो परिमाणको सुन राजश्व अनुसन्धान विभागले २ साउन २०८० मा सिनामंगलबाट गर्यो । कम्तीमा एक क्वीन्टल सुन बरामद गरेको विभागले १५ दिनसम्म गरेको अनुसन्धानले यसमा संगठित गिरोहको संलग्नता देखाउँछ ।
विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार, कम्तीमा १० दिनअघि आएको सूचनालाई पछ्याउँदै जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास गरेर बाहिरिएको सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरिएको थियो ।
विभागले पहिलो दिन भन्सारबाट सुनसहितको सामग्री बाहिर ल्याउने ट्याक्सीका चालक अशोक लामा र भन्सार एजेन्ट राजेन्द्र राईलाई पक्राउ गर्यो ।
अर्को दिन विभागले नेपाल प्रहरीको सहयोगमा सुनसहितको सामग्री ल्याउने रेडी ट्रेड प्रा.लि.का सञ्चालक दिलीप भुजेल, उनका मामा रामकुमार भुजेल, उनका साथी हर्कराज राई र तिब्बती मूलका भारतीय नागरिक थाप्तेन छिरिङलाई पक्राउ गर्यो ।
थाप्तेनको बयानका आधारमा ४ साउनमा विभागको टोलीले बालुवाटारस्थित एक गोदाममा छापा हान्यो, जुन घर चिनियाँ नागरिकले भाडामा लिएको खुलेको थियो । घरधनीलाई बुझाएको राहदानीको फोटोकपीको आधारमा विभागले खोजी गरिदिन प्रहरीलाई आग्रह गर्यो ।
प्रहरी टोलीले १३ साउनमा चिनियाँ नागरिक ज्यास्याङ लिनलाई दरबारमार्ग नजिकै उत्तर ढोकामा लोकेट गर्यो । पछ्याउँदै जाँदा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर लागेको देखियो । विमानस्थलमा प्रहरीले उनलाई पक्राउ गर्यो र अध्यागमन विभागमार्फत राजश्व अनुसन्धान विभागको जिम्मा लगायो ।
जानकारहरुका अनुसार, नेपाल आउने ठूलो परिमाणको सुनको गन्तव्य भारत हुने गरेको छ । यतिञ्जेलमा तस्करीको यो सञ्जालमा चिनियाँ, भारतीय र नेपाली नागरिकको गिरफ्तारीले पनि त्यसको संकेत गरिसकेको छ ।
अझ यो प्रकरणमा १३ साउनमा तिब्बती मुलका बेल्जियन नागरिक दावा छिरिङ पनि पक्राउ परेपछि अनुसन्धानको दायरा थप फराकिलो बनाउनुपर्ने देखिएको छ । दावा तिनै व्यक्ति हुन्, जसको नाम अपराधमा संलग्न चिनियाँ नागरिकबारे अनुसन्धान हुँदा पटकपटक जोडिन्थ्यो । चिनियाँ नागरिकले चलाएको कल सेन्टर ‘स्क्याम’मा प्रहरीले चार वर्षअघि उनीविरुद्ध अनुसन्धान गरेपनि जोगिएका थिए ।
दावाको माओवादी केन्द्रका नेताहरुसँग पनि उठबस रहँदै आएको छ । यद्यपि, सुन तस्करीमा उनले त्यो सम्बन्धलाई प्रयोग गरेका थिए वा थिएनन् भन्ने खुलेको छैन । विभागले ठमेलमा छापा मारेको होटल भियना उनकी श्रीमती अमला रोकाको नाममा छ, जो माओवादीको रोल्पा–काठमाडौं सम्पर्क मञ्चकी पूर्वउपाध्यक्ष हुन् ।
विभागले गिरोहको सोह्रखुट्टे, बालुवाटार, लाजिम्पाट र टोखास्थित गोदाममा पनि छापा मारेको छ । त्यहाँबाट चार वटा सुन गाल्ने उपकरण बरामद भएको छ । सुन जोख्ने र अर्कै स्वरुपमा निकाल्नलाई आवश्यक सामग्री पनि बरामद भएको छ । ती सबै तथ्यलाई जोडेर विभागकै अधिकारीहरु भन्छन्, ‘यो गिरोह सोचेभन्दा निकै संगठित र बलियो देखियो ।’
तर, इतिहासकै सबैभन्दा ठूलो सुन बरामदी प्रकरणको अनुसन्धान सरकारले संगठित अपराध अन्तर्गतको कसूरमा अघि बढाएको छैन । अहिले यो मामिलाको अनुसन्धान राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार मात्र भइरहेको छ ।