प्राधिकरण र टेलिकम कम्पनीबीचको लडाइँले अलपत्र बन्यो ‘टेरामक्स’
टेलिकम कम्पनीहरूबाट हुने कर छलीको गतिविधिमाथि निगरानी गर्ने लक्ष्यसहित जडान गरिएको टेलिकम्यूनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) अलपत्र परेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले जडान गरेको टेरामक्स अलपत्र परेको हो । टेरामक्स प्रणाली काठमाडौँको चाबहिल र हेटौँडामा सेकेन्डरी डाटा सेन्टर (जीआईडीसी) राखिएको थियो ।
यो योजनाको कूल लागत २३.७ मिलियन अमेरिकी डलर छ । दुई चरणमा हुने कामको पहिलो चरणमा आयोजनाको डिजाइन, विकास र प्रणाली जडान रहेको छ ।
यस्तै, दोस्रो चरणअन्तर्गत जडानकर्ता कम्पनीले आगामी ५ वर्षसम्म यो प्रणालीको व्यवस्थापनसमेत सोही कम्पनीले गर्नेछ ।
एनटीएले जडान गरेको टेरामक्समा सरकारीको नेपाल टेलिकम कम्पनीले नै असहयोग गरेपछि अलपत्र परेको एनटीएका अध्यक्ष पुरुषोत्तम खनालले बताए ।
उनले कम्पनीहरूले कर छली गरे/नगरेको विषय अनुगमन गर्नका लागि जडान गरिएको टेरामक्समा टेलिकमले नै असहयोग गरेको रातोपाटीलाई बताए ।
‘सेवाप्रदायक कम्पनीले नियामकीय निकायले कानून बमोजिम ल्याएको व्यवस्था मान्दिन भन्न मिल्दैन,’ खनालले भने, ‘तर, नेपाल टेलिकमले टेरामक्स जडान गर्नै मानेको छैन ।’
यतिबेला सामाजिक सञ्जालमा टेरामक्ससम्बन्धी भइरहेको विभिन्न खाले टीकाटिप्पणीमा समेत टेलिकम कम्पनीकै हात रहेको हुन सक्ने प्राधिकरणको आशङ्का छ ।
हाल नेपालमा नेपाल टेलिकम र एनसेल गरी दुई वटा टेलिकम कम्पनीले सेवा सञ्चालन गरिरहेका छन् । यूटीएल र स्मार्टले समेत फाट्टफुट्ट सेवा प्रदान गरिरहेका छन् ।
स्मार्टले आफ्नो सेवा बन्द गरेपनि यूटीएलको आंशिक सेवा सञ्चालनमा छ । तर, पूर्ण रूपमा टेलिकम र एनसेल गरी दुई कम्पनी सञ्चालनमा छन् ।
यीमध्ये निजी क्षेत्रबाट प्रवर्द्धित एनसेल आजिआटाले डेढ महिना अघि नै टेरामक्सका लागि चाहिने सामग्री लगिसकेको प्राधिकरण बताउँछ । तर, टेलिकमले आफ्नो प्रणालीमा टेरामक्स जडान नगर्दा पूर्ण कार्यान्वयनमा कठिनाइ आइरहेको अध्यक्ष खनालको भनाई छ ।
‘एउटा कम्पनीले प्रणालीमा टेरामक्स जडान गर्ने र अर्कोले नगर्ने भन्ने हुँदैन,’ खनालले रातोपाटीसँग भने, ‘यसबाट नेपाल टेलिकममा बदमासी छ भनेर अनुमान गर्ने ठाउँ देखिन्छ ।’
टेलिकमलाई टेरामक्स जडान गर्न ४/५ पटक पत्र लेखे पनि अटेरी गरिरहेको प्राधिकरणको आरोप छ । तर, टेलिकमका प्रवक्ता शोभन अधिकारीले भने अदालतको आदेशविना व्यक्तिगत गोपनीयताबारे कसैले पनि हेर्न नमिल्ने बताउँछन् । उनले प्राधिकरणले टेरामक्सको नाममा व्यक्तिहरूको गोपनीयताबारे पहुँच खोजेका कारणले आफूहरू यसबारे अध्ययनमा रहेको बताए ।